२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

कपिलवस्तुमा पुनः विगतकै लकडाउन, अत्यावश्यकीय बाहेकका सबै सेवा ठप्प



काठमाडौं ।

गृह मन्त्रालयले कोरोना ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म कपिलवस्तुमा लकडाउनलाई कडाइ गर्ने जनाएको छ ।

सरकारले कपिलवस्तुसहित ४ जिल्लामा यो नियम लागू गर्ने भएको हो । कोरोना संक्रमणको उच्च जोखिममा रहेका कपिलवस्तु, सर्लाही, रौतहट र दैलेखलाई ‘हटस्पट’को सूचीमा राखेर तत्काल अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सुचारु नगर्ने भएको हो ।

गृह मन्त्रालयले यी ४ जिल्लामा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निर्णय नभएसम्मका लागि सुचारु नगर्न पनि निर्देशन दिएको छ । यी जिल्लामा कोरोना संक्रमणको जोखिम र खतरा मूल्यांकन गरेर निर्णय लिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जनस्वास्थ्यसम्बन्धि मापदण्ड अनुसार यी जिल्लाको अवस्था उच्च जोखिममा रहेकोले अर्को व्यवसथा नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा सुचारु नगरिएको बताउनुभयो । ‘सरकारले २ सय सम्म कोरोना संक्रमित रहेका जिल्लामा शर्तसहित लकडाउन खुकुलो पार्दै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका सेवा सुचारु गर्ने निर्णय लिएको छ,’ अधिकारीले भन्नुभयोे, ‘तर सर्लाही, रौतहट, कपिलबस्तु र दैलेख संक्रमणको उच्च जोखिम रहेकै कारण यस क्षेत्रमा लकडाउनलाई थप कडाइका साथ पालना गर्न स्थानीय प्रशासनलाई भनेका छौं ।’

मंगलबारसम्म देशभर कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९३ रहेकोमा उच्च जोखिममा रहेका जिल्लामा दैनिक संक्रमितको संख्या बढ्दो क्रममा छ ।

उच्च जोखिममा रहेका ४ बाहेक उपत्यकासहित ७३ जिल्लामा भने लकडाउन खुकुलो बनाउँदै सोमबारबाट सार्वजनिक, निजी र गैरसरकारी संघसंस्थाबाट सेवा सुरु भइसकेका छन् । कम जोखिम रहेका जिल्लामा निजी सवारी सञ्चालन गर्न जोरविजोर प्रणाली लागू गरिएको छ ।
यसअघि जारी भएका सवारी पास दुरुपयोग हुनसक्ने भएर सोमबार नै गृहले जिल्लाभित्र आवागमनका सबै पास खारेज गर्नुका साथै एक जिल्लाबाट अर्को जिल्लामा जान पनि कडाइ गरिएको छ ।

कपिलवस्तुका प्रजिअ भन्छनः पत्रमा जे आउँछ त्यहि अनुसार कार्यान्वयन गर्छौ

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले लकडाउनबारे गृह मन्त्रालयको पछिल्लो जानकारी अझै आइनपुगेको बताउनुभएको छ । मंगलबार साँझ सवा ७ बजे मायादेवी अनलाइनसंग कुराकानी गर्दै प्रजिअ पौडेलले पत्र आउँदा वित्तिकै लागू गर्ने बताउनुभयो । ‘गृहबाट अहिलेसम्म कुनै निर्देशन जिल्लामा आइपुगेको छैन्, प्रजिअ पौडेलले भन्नुभयो, ‘पत्र आएपछि त्यसमा के लेखेको छ, त्यहि अनुसार जिल्लामा लागू हुन्छ ।’

प्रकाशित मिति : २ असार २०७७ मंगलबार ००:००  ७ : २७ बजे