२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

घट्दै कपिलवस्तुमा क्वारेनटाइनमा बस्नेः मायादेवी र यशोधराका क्वारेनटाइन रित्ता, कृष्णनगरमा एकजना



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेको कपिलवस्तुमा क्वारेनटाइनमा बस्नेहरुको संख्या क्रमश घट्दै गएको छ । बैशाखको अन्तिम सातादेखि जेष्ठ महिनाको दोस्रो हप्तासम्म जिल्लाका क्वारेनटाइनमा बस्नेहरुको संख्या लगभग १५ हजार थियो ।

तर, पछिल्लो समय कोरोना परिक्षणको दायरा बढ्दै जानु र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ दिन क्वारेनटाइनमा बसेकाहरुमा कोरोनाको कुनै लक्षण नदेखिए घर पठाउन दिने कार्यविधि आएसंगै जिल्लामा क्वारेनटाइनमा बस्नेहरु क्रमश घट्दै गएका हुन् ।

मंगलबार साँझसम्म जिल्लामा जम्मा १ हजार जना क्वारेनटाइनमा रहेका छन् । मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिकामा एक जना पनि क्वारेनटाइनमा छैनन् भने कृष्णनगर नगरपालिकामा जम्मा एक जना मात्र रहेका छन् ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार सबैभन्दा बढी बुद्धभूमि नगरपालिकामा २ सय ४५ जना क्वारेनटाइनमा रहेका छन् । त्यसपछि क्वारेनटाइनमा बस्नेको संख्या वाणगंगामा बढी छ । वाणगंगामा मंगलबार साँझसम्म १ सय ७७ जना क्वारेनटाइनमा रहेका छन् ।

यस्तै विजयनगर गाउँपालिकामा १ सय ७३ जना, कपिलवस्तु नगरपालिकामा १ सय २५ जना, शिवराज नगरपालिकामा १ सय २४ जना, शुद्धोधन गाउँपालिकामा १८ जना रहेका छन् ।

कपिलवस्तुमा आज साँझसम्म ६ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । वितेको चौविस घण्टामा जिल्लामा एक जनामा मात्र संक्रमण पुष्टि भएको छ । जिल्लाका ६ सय ८५ जना कोरोना परिक्षणको रिपोर्टको पर्खाइमा बसेका छन् ।

अहिलेसम्म कपिलवस्तुमा ५ हजार ७ सय २ जनाको पीसीआर विधिबाट कोरोनाको परिक्षण भएको छ भने आरडिटी परिक्षणबाट ११ हजार ८ सय ८२ जनाको परिक्षण भएको छ ।

प्रकाशित मिति : २ असार २०७७ मंगलबार ००:००  ७ : ३८ बजे