२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

नारायणगढ मुग्लिन सडक दुईतर्फी खुल्यो



चितवन ।
बुधबार बिहानदेखि गएको पहिरोका कारण अवरुद्ध बनेको सडक बिहिबार बेलुका साढे सात बजे दुईतर्फी रुपमा खुलेको छ ।

उक्त सडकखण्ड अन्तर्गत कालीखोला र चारकिलोमा गएको पहिरो कारण सवारी आगमन बन्द भएको थियो । पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड बिहीबार साँझ ७ः३० बजेबाट सडक नियमित सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए ।

उनका अनुसार बिहान पहिरो नगए पनि साढे ९ बजेबाट दुबैतर्फ सवारी आगमन रोकेर पहिरो पन्छाउने कार्यलाई निरन्तरता दिइएको हो ।

सो सडककको चार किलो भन्‍ने स्थानमा ४५ मिटर सडक ढाक्ने गरी बुधबार पहिरो आएको थियो । बुधबार पहिरो पन्छाएर केही सवारी पास गराए पनि पुनः पहिरो गएर सडक अवरुद्ध बनेको थियो ।

बिहीबार दिउँसो एकतर्फी खुलाएर एम्बुलेन्सलगायतका साना सवारीलाई पार गराएपछि पुनः बाटो रोकेर पहिरो पन्छाईएको प्रवक्ता थापाले बताए ।

प्रहरीले बाटो खुलेको भनिए पनि जाममा फसेका यात्रुले भने दुई घण्टादेखि गाडी अघि नबढेको बताएका छन् ।

प्रकाशित मिति : ५ असार २०७७ शुक्रबार ००:००  ६ : ०७ बजे