५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वाणगंगा नगरमा गेम चेन्जरको योजना अघि बढाऔंः सांसद पन्थी



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको विकासमा निरन्तर खटिरहने प्रदेश सांसद विष्णु पन्थीले सुव्यवस्थित नगरपालिका बनाउन गेम चेन्जरको ठोस योजनाहरु समावेश गरेर जानुपर्ने बताउनुभएको छ । वाणगंगा नगरपालिकाको आ.ब. २०७७।०७८ को वार्षिक निति, कार्यक्रम र बजेट तयारी सम्बन्धी सुझाव संकलन कार्यक्रममा सांसद पन्थीले यस्तो धारणा राख्नु भएको हो ।

नगरको विकास र सम्बृद्धि हासिल गर्न केही नयाँ महत्वपूर्ण योजनाहरु अघि सार्नुपर्ने बताउनुभएको हो । वाणगंगा नगर केन्द्रमा रहेकाले सडक संजाल र स्तरोन्नतीबाट लुम्बिनी, तिलौराकोट, अर्घाखाँची, रुपन्देही तथा भारतीय सिमासंग जोडिएकाले रणनीतिक योजना सहित अघि बढ्नुपर्ने बताउनुभयो । नगरपालिकाको बृहत गुरुयोजना निर्माण गरेर व्यवस्थित नगरको रुपमा गेम चेन्जरका नयाँ योजनाहरु अघि सार्नुपर्ने सांसद पन्थीले बताउनुभयो ।

उहाँले नगरको स्वास्थ्य सेवालाई सुदृढ बनाउन पिपरा अस्पताल, सामुदायिक अस्पताल, अन्य निजी अस्पतालको स्तरोउन्नती गर्ने योजनालाई प्राथमिकता राख्नुपर्ने बताउनुभयो । पिपरा अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । त्यस्तै शिक्षा क्षेत्रमा प्रदेशकै गौरवको क्याम्पस सिद्धार्थ क्याम्पसको बृत्ति विकास र नगरका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर, पठनपाठन र सिकाईमा जोड दिनुपर्ने जस्ता कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

नगर भित्र व्यवस्थित बसपार्कको अवधारणाले नगर भित्र र वाहिर पर्यटनसंग जोडेर आन्तरिक तथा वाह्य बसहरु संचालन गर्न सकिने बताउनुभयो । नगरभित्रका २ वटा रंगशालालाई व्यवस्थित गरेर प्रदेश र स्थानीय स्तरमा खेलकुदका कार्यक्रम गर्न सकिने बताउनुभयो । नगरभित्रको फोहोरलाई व्यवस्थित गरेर आम्दानी र रोजगारीसंग जोडर लैजान सकिन्छ, उहाँले भन्नुभयो, शहरीकरणसंगै फोहोरलाई मोहोर बनाउने योजना हामीसंग हुनुपर्दछ ।

नगरको भलवाडमा औद्योगिक ग्रामको अवधारणा शुरु भइसकेकोले त्यसलाई प्रवधर्न गर्ने खालको योजनालाई अब प्राथमिकता दिनुपर्नेछ । त्यस्तै कृषि र सिंचाईको लागि वाणगंगा नदीको जलाधार व्यवस्थापनको कार्य अघि बढाउनुपर्ने बताउनुभयो । जलाधारको प्रमुख आधार वाणगंगा नदी भएकाले दोविल्लामा हाइड्याम बनाएर र नगरभित्रका अन्य साना पोखरी, मुहानलाई जल भण्डारको रुपमा लैजानुपर्ने बताउनुभयो । त्यस्तै जमिनमुनी बोरिङ्ग खन्ने योजना निरुत्साहित गरेर वर्षायामको पानी संकलन गरेर सिंचाई, कृषि र अन्य प्रकारका लाभ लिन सकिने निति ल्याउनुपर्ने बताउनुभयो ।

नगरको अर्को महत्वपूर्ण कार्य सार्वजनिक जग्गाको व्यवस्थापन र संरक्षणमा नगरले विशेष कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले शहरीकरणले बजार अव्यवस्थित हुने पछि समस्या आउने भएकाले समयमै ध्यानदिनुपर्ने बताउनुभयो ।

त्यस्तै सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थित गरेर व्यक्तिगत तथा अन्य आवश्यक सम्पूर्ण विवरण सहितको सूचना अध्यावधी गरेर जानुपर्ने बताउनुभयो ।

प्रदेशले नगरले सारेका महत्वपूर्ण योजनामा प्रदेश सरकारले साथ दिने बताउनुभयो । उहाँले प्रदेश सरकारले शिक्षा, कृषि, सिंचाई, बन, खानेपानी, रोजगारी, खेलकुद, पर्यटन, पार्कका लागि नगरसंग हातेमालो गरेर जाने समेत बताउनुभयो । प्रदेश सरकारले खानेपानीको ल्याव वाणगंगामा शुरु भएकाले त्यसलाई पनि नगरको योजना भित्र समावेश गरेर जानुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ५ असार २०७७ शुक्रबार ००:००  ४ : ४८ बजे