५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बाणगंगा नदीमा फसेका दुई जनाले पाए पुर्नजीवन, सशस्त्र र सेनाको उद्धारमा महत्वपूर्ण भूमिका



मायादेवी अनलाइन, चार नम्बर ।
शुक्रबार कपिलवस्तुको बाणगंगा नदीमा फसेका दुई जनालाई ४ घण्टापछि उद्धार गरिएको छ । विहान करिब ५ बजेतिर नदीमा दाउरा बटुल्न गएका एक दम्पती खोलामा गएको बेला एक्कासी बाढी उर्लेर आएपछि उनीहरु खोलाको बीचमै अड्किएका थिए ।

स्थानीयले उनीहरुलाई देखेपछि इलाका प्रहरी कार्यालय पिपरालाई खबर गरेका थिए । खबर लगत्तै विहान ६ बजे नै प्रहरी नायव निरिक्षक (सई) सहितको टोली घटनास्थलसम्म पुगेको जनाइएको छ ।

नदीको बहाव निकै उच्च भएको कारण प्रहरीबाट उद्धार असम्भव थियो । त्यसपछि प्रहरीले पिपराको सशस्त्र प्रहरी बल र नेपाली सेनाको विपद् ब्यवस्थापन उद्धारक टोलीलाई बोलायो । उनीहरु ८ बजे घटनास्थलमा आई उद्धारको काम थालेका थिए ।

खोलामा दम्पति अलपत्र परेपछि एकै छिनमा स्थानीयको पनि ठुलो भीँड लाग्यो । खोलो दुई धार बनाएर तीव्र गतिमा बहिरहेको थियो । त्यसको बीचमा ती महिला पुरुष थिए । सुरुमा नदीको पश्चिम तर्फबाट उद्धार थालियो तर त्यहाँ सम्भव भएन । एक घण्टाको पहिलो प्रयास असफल भएपछि उद्धार टोलीले नदीको पूर्वभागबाट उद्धार कार्य थाल्यो ।

९ बजेतिरबाट गरिएको दोश्रो पटकको प्रयास सफल भयो । तालिम प्राप्त सशस्त्र र सेनाका ३ जना नदीमा हाम फालेर पारीपट्टी गए । वार पार डोरी टाँगियो । सशस्त्रका उद्धारक पौडीबाजमध्ये जगत सारु मुख्य पौडीबाज हुनुहुन्थ्यो । ५० जना बढीको सिंगो टोलीले करिब ११ बजेतिर उद्धार गर्न सफल भयो । यो सफलतापछि सशस्त्रका इन्सपेक्टर अर्जुन ढकालले तालिम प्राप्त जनशक्ति भएकाले सफलता पाएको बताउनु भयो ।

नारायण दल गण गोरुसिंगेका प्रमुख सेनानी भूपेन्द्र बीक्रम आङ्दाम्बेले यो आफूहरुको सफलता भन्दा पनि दुई जनाको ज्यान बच्नु नै ठुलो भएको बताउनु भयो । उहाँले सिंगो टोलीलाई धन्यबाद समेत दिनुभएको छ ।

यसैबीच खोलामा डोरीको सहायताले ती दम्पतीलाई बचाउनु भएका प्रमुख पौडीबाट भुपेन्द्र सारुले अरुको ज्यान बचाउँदा खुसी लागेको बताउनु भयो । आफ्नो ज्यान जोखिममा रहे पनि अरुको ज्यान बचाउनु ठुलो भएको बताउनु भयो ।

खोलाबाट उद्धार भएपछि नयाँ जीवन पाएकोमा खुसी ब्यक्त गर्दै ती दम्पतीले अबदेखि बाढी आएको बेला खोलामा नजाने बताउनु भएको छ ।

यस घटनास्थलको मायादेवीकर्मीले करिब २ घण्टा जोखिम मोलेर खबरको रिपोर्टिङ गरेका थिए । यसको भिडियो मायादेवी अनलाइन डट कम (अंग्रेजीमा लेखिएको) नामक फेसबुक पेजमा गएर हेर्न सक्नु हुने छ ।

यो पनि पढ्नुहोस एकाविहानै वाणगंगा नदी पसेका दुई व्यक्ति एक्कासी नदीको बहाव बढेपछि बीचमै अड्किए

भिडिओ पनि…

प्रकाशित मिति : ५ असार २०७७ शुक्रबार ००:००  ४ : ५८ बजे