५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

हाम्रो डेण्टल भैरहवाद्धारा कपिलवस्तुका आइसोलेसनमा स्वास्थ्य सामग्री वितरण




मायादेवी अनलाइन, चार नम्बर ।
हाम्रो डेण्टल भैरहवाले कपिलवस्तुका आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । कपिलवस्तु कोरोनाको सबैभन्दा उच्च जोखिमयुक्त जिल्ला भएको कारण अलिकति भए पनि सहयोग् पुगोस् भनेर स्वास्थ्य सामाग्री बाँडिएको संस्थाले जनाएको छ । विहिबार सुरक्षाकर्मी र असहाय बालबालिकालाई स्वास्थ्य सामाग्री वितरण गरेको सो डेण्टलले शुक्रबार पनि ५ वटा पालिकामा रहेका कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री बाँडिएको डाक्टर आसुतोश शुक्लाले जानकारी दिनुभयो ।

शुक्रबार (आज) बाणगंगा, बुद्धभूमि, शिवराज नगरपालिकामा तिनतिन सय थान ब्रस, मंजन तथा २५० थान साबुन र मास्क बाँडिएको थियो भने मायादेवी र शुद्धोधन गाउँपालिकामा पनि दुईदुई सय थान ब्रस र मंजन तथा एकएक सय थान साबुन र मास्क बाँडिएको थियो । शुक्लाले मायादेवीलाई जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र प्रहरी चौकी चाकरचौडालाई स्वास्थ्य सामाग्रीस्वरुप २ सय ५० थान ब्रस, ३ सय ५० थान मञ्जन, ५० थान मास्क, २ सय मास्क, करिब ४ हजार पर्ने सेनेटाइजर स्टेण्ड, ३० थान प्याड र ३० वटा साबुन वितरण गरिएको हाम्रो डेण्टलका डाक्टर आशुतोष शुक्लाले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

सामाग्री वितरण गर्दै सामुदायिक रेडियो मायादेवीका अध्यक्ष नन्द किशोर शुक्लाले हाम्रो डेण्टल क्लिनिकलाई धन्यबाद दिँदै यो मानवीय कार्यलाई निरन्तरता दिन अनुरोध गर्नुभयो । साथै उहाँले सानो सहयोग भए पनि यसले समाजलाई राम्रो सन्देश दिएको बताउनु भयो । बाणगंगाको कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री र कोपवा स्वास्थ्य चौकी प्रमुख कृष्ण घिमिरेको सहभागिता रहेको थियो । उहाँहरुले सहयोगको लागि बाणगंगालाई सम्झेर आएकोमा धेरै खुसी ब्यक्त गर्नुभयो ।

यस कार्यक्रमको लागि ट्राभल डिनिस्ट्री र एसएचइ फाउण्डेसन काठमाण्डौँले सहयोग गरेको बताइएको छ । २ दिनसम्म सो संस्थाले १५ सय थान ब्रस र मंजन, ८ सय थान मास्क, ८ सय थान साबुन, १ थान स्ट्याण्ड सेनेटाइजर, ५ थान सेनेटाइज र ३० थान सेनेटरी प्याड वितरण गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७७ शुक्रबार ००:००  ९ : ११ बजे