५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अविरल बर्षाले रोपेको खेत डुवानमा, वाणगंगा नदी तटीय क्षेत्रका बासिन्दा उच्च जोखिममा



मायादेवी अनलाइन, चार नम्बर ।
शुक्रबार रातिदेखिको परेको अविरल बर्षाले कपिलवस्तु जलमग्न भएको छ । यो बर्षमै सबैभन्दा ठूलो बर्षा भएको जिल्ला अहिले जलमग्न भएको छ । नदी आसपासको खेतमा रोपिएको धान बगाएर सखाप पारेको छ भने वाणगंगाका विभिन्न क्षेत्रका घरहरु डुवानमा परेका छन् ।

अविरल बर्षासंगै आएको कोइली खोलाको बाढी खेतमा पस्दा कोइली बनगाईका दर्जनौं विगाह क्षेत्रफलमा रोपिएको धान बगाएको छ । कोइली बनगाईकी अम्बिका विष्टले दुई दिन पहिले रोपेको धान बाढीले बगाइदिएको बताउनुभयो । यो बर्ष छिट्टै रोपेर सकाउने उद्धेश्यले असार लाग्दै रोपेको धान बाढीले बगाएको भन्दै उहाँले दुखेसो पोख्नुभयो ।

यता बाढी पूर्वानुमान महाशाखाले कपिलवस्तुका वाणगंगा र गुडुरुङ नदीमा बाढी आउन सक्ने भन्दै शनिबार विहान सचेत रहन सूचना जारी गरेको थियो । सोहि अनुसार नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण सचेत बनेका छन् । लगातारको बर्षासंगै आएको बाढीले वाणगंगा नदी आसपास रहेका दर्जनौंबस्ती जोखिममा परेका छन् । बर्षा यसैगरी आइतबार विहानसम्म निरन्तर आयो भने दर्जनौं घर जोखिममा पर्छन् ।

बर्षाले वाणगंगाका विभिन्न वस्ति पनि डुबानमा परेका छन् । राजमार्ग आसपास रहेका अधिकांश वस्ती डुवानमा परेको देखिन्छ भने भित्रिबस्तीहरु पनि डुवानमा परेको सामाजिक सञ्जालमा तस्बीर पोस्ट् गरिएका छन् ।

प्रकाशित मिति : ६ असार २०७७ शनिबार ००:००  २ : ४९ बजे