४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

कृष्णनगरको नीति तथा कार्यक्रमः स्वास्थ्य, कृषि, पशुपालन र रोजगारीलाई प्राथमिकता



मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले स्वास्थ्य, कृषि, पशुपालन र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।

नगरपालिकाको पाचौँ नगर सभाको पहिलो बैठकमा नगर प्रमुख रजत प्रताप शाहले ‘समृद्ध नगर, खुसी नगरवासी’को आकाङ्क्षा पुरा गर्न महामारीका कारण समग्र अर्थतन्त्र र सामाजिक, आर्थिक अवस्थामा परेको प्रतिकुलतासंग जुझ्ने गरी नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो ।

कृष्णनगर नगरपालिकाले असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई बिपन्न तथा गरिब घरपरिवारलाई राहत तथा प्रभावित सबैलाई स्वास्थ्य सरसफाईका सामग्रीहरु बितरण गरिएको निति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

कृषि उपज तथा कृषिजन्य उत्पादनमा आत्मनिर्भरताका लागि उद्यमशिलताको प्रवर्धन गर्न, मल, बिउ, किटनाशक औषधीको उपलब्धता, उत्पादित बस्तुको भण्डारण तथा प्रशोधन र बजार ब्यवस्थामा सहजीकरण गर्न र सिचाई सुबिधा प्रवर्धन गर्न आवश्यक बजेट ब्यवस्था गरिने कार्यक्रम प्रस्तुत गरिएको छ ।

किसानको लागत मूल्य प्रप्तिको सुनिश्तताको लागि कृषि तथा पशु बिमा कार्यक्रमलाई प्रोत्साहित गर्न नितिगत तथा कार्यक्रमगत ब्यवस्था गरिनेछ । खाद्यान्न र दलहन खेतीलाई प्रोत्साहित गर्दै पकेट क्षेत्र निर्धारण गरी कृषिमा विविधीकरण गरिने कार्यक्रम प्रस्तुत गरिएको छ ।
कृष्णनगरलाई दुग्ध उत्पादनको पकेट क्षेत्र बनाई नगरवासीको आर्थिक अवस्थामा सुधार ल्याउन उन्नतजातका गाई तथा भैसीपालन व्यवसायलाई प्रवद्धन गर्दै पशुरोग उपचार तथा गोठ सुधारमा जोड कार्यक्रम प्रस्तुत गरिएको छ ।

बिदेशबाट फर्किएका तथा रोजगारीको खोजीमा रहेका ब्यक्तीहरुमा रहेका सिपको बिवरण समेत रोजगार सूचना केन्द्रमा अद्यावधिक गरी त्यस्तो जनशक्तीलाई स्थानीयतह भित्र उपलब्ध हुने निर्माण सेवा, व्यवसाय उद्योग, कृषि लगायतका क्षेत्रका रोगगारदातासंग समन्वय गरी रोजगारी प्रदान गर्न सहजीकरण गर्ने नगर प्रमुखद्धारा प्रस्तुत नीति कार्यक्रम उल्लेख गरिएको छ ।

अस्पताल स्वास्थ्य चौकी तथा स्वास्थ्य एकाईबाट प्रदान गरिने खोप सेवा, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य, पोषण लगायतका जनस्वास्थ्य सेवाहरु र उपचारत्मक सेवाको लागि आवश्यक पर्ने औषधी, उपकरण तथा स्वास्थ्य सामग्रीको लागि आवश्यक बजेट ब्यवस्था गरिने पेश गरिएको छ ।

समाबेशी बिकास तथा सामाजिक सुरक्षा कार्यक्रमहरु सञ्चालन गर्ने, लैगिंक हिसाको न्यूनीकरण, असहाय वर्गको संरक्षण, महिला बालवालिका, एकल महिला, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक र अति विपन्नहरुको संरक्षणको लागि लक्षित कार्यक्रमहरु संचालन गरिनेछ । खोप सेवा, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, पोषण जस्ता जनस्वास्थ्य संग सम्बन्धित आधारभुत सेवा सुबिधालाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गर्न आवश्यक ब्यवस्था गरिने कार्य समेटिएको छ ।

नीति तथा कार्यक्रममा नगरस्तरिय, वडास्तरिय र वस्तीस्तरका सडकको मापदण्ड तोकी लागु गरिने तथा नगर स्तरिय सडक गुरु योजना निर्माण गरिनेछ । नगरपालिका भित्र रिङरोड निर्माण कार्य अगाडी बढाईनेछ । नगर क्षेत्र भित्र रहेका ताल पोखरीहरुको अभिलेखिकरण गरि मर्मत संभार र सुन्दरिकरण गरिनेछ ।

त्यस्ता ताल पोखरीहरुबाट किसानहरुलाई सिचाईको सुविधा उपलव्ध गराइने तथा सिंचाइको लागि प्रत्येक वार्डहरुमा वोरिगं, डिप बोरिङ जडान गरिनेछ । नगरपालिकाको सबै वडामा रहेका सुकुम्वासीहरुको तथ्यांक संकलन, गरिब वस्ति बिकास कार्यक्रमको अध्ययन गरी यस आर्थिक बर्षमा सस्तो मुल्यको नमुनाघर निर्माण गरिदिने कार्यको शुरुवात गरिनेछ ।

पत्रकारः अंकुश कुमार श्रीवास्तवबाट

प्रकाशित मिति : ११ असार २०७७ बिहिबार ००:००  ७ : ०९ बजे