१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

राजश्व संकलनमा लक्ष्य नजिक भैरहवा भन्सार, लकडाउनमा डेढ अर्बको तरकारी आयात



रुपन्देही ।
भैरहवा भन्सार कार्यालय चालू आर्थिक वर्ष (आव) मा राजस्व संकलनमा लक्ष्यनजिक पुगेको छ । सरकारले चालू आवमा ४ खर्ब ७३ अर्ब रुपैयाँको राजस्व संकलनको अनुमान राखेकोमा भैरहवा भन्सार कार्यालयलाई १ खर्ब ६ अर्ब रुपैयाँको लक्ष्य दिइएको थियो ।

कोरोना महामारी र सरकारले गरेको लकडाउनका कारण व्यापारमा आएको समस्याले समग्र भन्सार राजस्व प्रभावित भएको अवस्थामा पनि ७ असारसम्म भैरहवा भन्सार कार्यलयले ७० प्रतिशतभन्दा माथिको लक्ष्य पूरा गरेको छ । समग्रमा आयातको परिणाम नै घटेको र चालू आवको लक्ष्यको ७० प्रतिशत पनि पूरा गर्न समस्या रहेको भन्सार विभागले जनाए पनि भैरहवा भन्सार कार्यालयले ३ साताअघि नै लक्ष्यको ७० प्रतिशतभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो ।

भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार ७ असारसम्म ७० अर्ब ७२ करोड ५८ लाख राजस्व रकम संकलन गरेको छ । जेठ मसान्तसम्म भैरहवा भन्सार नाका भएर २ खर्ब ७ अर्ब २७ करोड रुपैयाँबराबरको सामान आयात हुँदा २ अर्ब ९१ करोड रुपैयाँबराबरको सामान निर्यात भएको छ ।
लकडाउनको समयमा पनि भैरहवा भन्सार कार्यालयबाट अत्यधिक मात्रामा सामान आयात भएको छ ।

यता ९ चैतदेखि ३२ जेठसम्म भन्सार कार्यालयबाट १ अर्ब ४८ करोड ७० लाख ७२ हजारको तरकारी तथा फलफूल मात्र आयात भएको छ । तरकारी तथा फलफूल आयातबाट १६ करोड ६९ लाख रुपैयाँ राजस्व दाखिला भएको भन्सार कार्यालय भैरहवाका सूचना अधिकारी पूर्ण लम्सालले बताए ।

तरकारीमा सबैभन्दा धेरै सुक्खा प्याज आयात भएको छ । भैरहवा भन्सार कार्यालयका अनुसार लकडाउन अवधिमा ५१ करोड ७९ लाख ४५ हजार रुपैयाँबराबरको १४ हजार १ सय ५३ मेट्रिक टन सुक्खा प्याज आयात भएको छ ।

त्यस्तै, आलु २७ करोड ८२ लाख, हरियो तरकारी र सागसब्जी ४६ लाख ५६ हजार, गोलभेँडा २ करोड ६१ लाख रुपैयाँको आयात भएको छ । ताजा प्याज ३६ लाख ५ हजार, ताजा लसुन ९८ लाख ३८ हजार, फर्सी, लौका ४० हजार, सुकेको तरकारी ४४ लाख ४८ हजार मुल्यको आयात भएको भन्सार विभागको तथ्यांक छ ।

लकडाउनकै अवधिमा केरा २४ करोड ३७ लाख, कागती ९ करोड ८४ लाख रुपैयाँको आयात भएको छ । ५ करोड ८८ लाख रुपैयाँको मेवा आयात हुदा १ करोड ६७ लाखको आँप आयात भएको छ ।

प्रकाशित मिति : १२ असार २०७७ शुक्रबार ००:००  ६ : ०१ बजे