३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

अहिलेकै लक डाउन साउन ७ सम्म थप्ने मन्त्रिपरिषदको निर्णय



काठमाण्डौँ ।
मन्त्रिपरिषद बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई सो मितिसम्म निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको उनले बताए। ‘स्वास्थ्य सतर्कता अपनाउन जरुरत रहेकाले यथास्थितिको लकडाउनलाई लम्ब्याइएको हो’ उनले भने।
सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियो।जसअनुसार निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन् भने सार्वजनिक सवारीसाधन तथा उद्दारबाहेकका हवाई उडान बन्द छन्।
त्यस्तै सीमित बजार पसलहरु सञ्चालन भए पनि भीडभाड हुने सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरु बन्द अवस्थामा छन्। कोरोनाभाइरसका कारण गत चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको हो। लकडाउनलाई क्रमिक रुपमा खुकुलो बनाउँदै जानेगरी यसअघि सरकारले विभिन्न चरणका योजनाहरु सार्वजनिक गरेको थियो।
तर दैनिक कोरोनाका संक्रमित बढ्दै गएपछि २१ दिनसम्म कायम राख्ने भनिएको हाल कायम चरणको लकडाउन अवधि लम्बिने भएको हो।

प्रकाशित मिति : १५ असार २०७७ सोमबार ००:००  ९ : ३० बजे