स्याङ्जा ।
लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका स्थानीयको घर घरमा धारा जडान गरिएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमुलमा ‘हिले राजास्वारा लिफ्टिङ खानेपानी योजना’ सञ्चालनमा आएसँगै खानेपानीको समस्या हटेको हो ।
एक गाग्री पानीका लागि स्थानीयले झण्डै एक घण्टा समय खर्चनुपर्ने बाध्यता रहेकोमा खानेपानी योजना निर्माण भएपछि खानेपानी बोक्नुपर्ने दैनिकी फेरिएको उक्त खानेपानी योजना उपभोक्ता समितिका सचिव पवनकाजी अधिकारीले बताए । “गाउँभन्दा तल रहेको मूलबाट बिजुलीका माध्यमबाट गाउँभन्दा माथि ट्याङ्की निर्माण गरी पानी तानिएको छ”, समितिका सचिव अधिकारीले भने, “मूलबाट गाउँमाथि रहेको ट्याङ्कीमा पानी ल्याइपुर्याउन एक हजार ६०० मिटर पाइप बिच्छ्याइएको छ ।”
गण्डकी प्रदेश सरकारको तीन करोड ५० लाख र स्थानीय उपभोक्ताको रु ५६ लाख बराबरको जनश्रमदान गरी चार करोड छ लाखको लागतमा खानेपानी योजना निर्माण भई सञ्चालनमा आएको समितिका सचिव अधिकारीले बताए । “यो खानेपानी योजनाले समेटेका सबै घर घरमा खानेपानीको धारा निर्माण गरिएको छ”, समितिका सचिव अधिकारीले भने, “यहाँका प्रत्येक घरसँगै विद्यालय, स्वास्थ्यचौकी, सामुदायिक भवन तथा सामाजिक, ऐतिहासिक महत्व बोकेका स्थानमा पनि छुट्टाछुट्टै धाराको जडान गरिएको छ ।”
गण्डकी प्रदेश सरकारअन्तर्गत सञ्चालित एउटा महत्वपूर्ण योजनाको रुपमा उक्त योजना निर्माण भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका डिभिजन प्रमुख प्रेम डोटेलले बताए । “हिले राजास्वारा लिफ्टिङ खानेपानी योजना सञ्चालनमा आएसँगै धेरै घरधुरी तथा त्यहाँको जनसङ्ख्या लाभान्वित भएका छन्”, डिभिजन प्रमुख डोटेलले भने, “पानीको सहज उपलब्धता भएसँगै अब विगतमा जस्तै पानीकै लागि समय खर्चनुपर्ने अवस्थाको अन्त्य हुने र उक्त समयलाई अन्यत्र सदुपयोग गर्न सकिने छ ।”
स्याङ्जामा रहेको डिभिजन कार्यालयले स्याङ्जा र कास्की जिल्लामा खानेपानीका क्षेत्रमा काम गर्ने भएकाले दुवै जिल्लाका खानेपानीको पहुँच नपुगेका ठाउँमा खानेपानीको पहुँच विस्तारका लागि योजना निर्माण भए पनि बन्दाबन्दीका कारण सबै योजना सम्पन्न हुन नसकेको डिभिजन प्रमुख डोटेलले बताए । चालु आर्थिक वर्षमा बन्दाबन्दीका कारण निर्माण शुरु नभएका वा निर्माण सम्पन्न नभएका योजनालाई आगामी चालु आर्थिक वर्षमा पुनः निरन्तरता दिँदै ‘एक घर, एक धारा’ अभियानलाई प्राथमिकतामा राखेर अगाडि बढेको डिभिजन प्रमुख डोटेलले जानकारी दिए । रासस













प्रतिक्रिया