७ असार २०८३, आइतबार | Sun Jun 21 2026

दिल्लीमा अलपत्र ६ नेपाली महिलाको उद्धार



अजय मिश्र, कपिलवस्तु ।
चार महिनादेखि भारतको दिल्लीमा अलपत्र रहेका ६ जना नेपाली महिलाहरुको उद्धार गरिएको छ। शान्ति पुनर्स्थापना गृहले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा ती महिलाको उद्दार गरिएको हो ।

उद्दार गरिनेमा मोरङका क्रमश ४०, ४०,३२ र २७ वर्षीय महिला गरी ४ जना, झापा र पर्वत जिल्लाका २६ र ४१ वर्षीय एक/एकजना गरी ६ जना नेपाली महिलाहरुको भारतबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए। २०७६ साल फाल्गुन २९ गते निशुल्क कुवेत र इरान पठाउने बहानामा नेपालगन्ज भन्सार नाका हुदै भारतको दिल्ली कुरारी जोरदा भन्ने स्थानमा लगेर दलालहरूले यातना दिँदै ती महिलाहरूलाई राख्दै आएको खुलेको छ।

त्यहाँका स्थानीयले संकास्पद रूपमा महिला लाई देख्दा शान्ति पुनर्स्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईलाई सम्पर्क गरेर जानकारी गराएका थिए। भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्थाका अध्यक्ष बाबु रोका मगरको विशेष सहयोगमा ५ दिन अगाडि नै उद्धार गरि शनिबार कृष्णनगर भन्सार नाका हुदै शान्ति पुनर्स्थापना गृह र इलाका प्रहरी कार्यालय कृष्णनगरको पहलमा नेपाल ल्याइएको हो।

भारतको दिल्लीबाट उद्धार गरेर नेपाल ल्याइएका महिलाहरु लाई शान्ति पुनर्स्थापना गृहमार्फत मानव वेचविखनको केन्द्रीय व्युरोमा थप अनुसन्धानको लागि पठाउने तयारी भईरहेको शान्ति पुर्नस्थापना गृह कपिलवस्तु संस्थाकी जिल्ला संयोजक निशा पन्थीले बताइन्।

प्रकाशित मिति : २० असार २०७७ शनिबार ००:००  २ : ५६ बजे