७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तुमा पनि फाउण्ड कार्यक्रम, ५ सय अपाङ्गता भएकाहरुले रोजगार पाउने



मायादेवी अनलाइन, चार नम्बर ।
‘द ल्याप्रोसी मिसन नेपाल’ ले कपिलवस्तुमा पनि फाउण्ड कार्यक्रम संचालन गर्ने भएको छ । जिल्लामा अपांगता भएका युवा सहित सबै महिला र पुरुषको लागि पूर्ण उत्पादनमुलक रोजगारी र समान तलव उपलब्ध गराउने गरी ४ बर्षको लागि (२०१९–२०२३) कार्यक्रम संचालन हुन लागेको हो । ‘रोजगारविहिन अपांगता भएका ब्यक्तिहरुको लागि उर्जाशिल अवसर’ नामक कार्यक्रम संचालन गरी ४ बर्षमा कम्तिमा पनि ५ सयको संख्यामा रोजगारी दिइने बताइएको छ ।

यसको लागि जिल्लाका सबै स्थानीय तहसंग सम्झौता सकेको र काम अगाडी बढ्ने क्रममा रहेको संस्थाका विजनेश डेभलपमेन्ट अफिसर टंक प्रसाद उपाध्यायले जुम भर्चुअल वैठकमार्फत सोमबार जानकारी दिनुभयो । जन गणनामा उल्लेख भएकाभन्दा बढी ब्यक्ति अपाङ्गता भएको तर राज्यले नहेर्दा उनीहरुलाई जीवन यापनमा समस्या भएको, कुष्ठरोगीहरु रोजगारीमा निकै पछाडी परेको, समान पहुँच नभएको, सार्वजनिक सेवाहरुमा भेदभाव भएको इत्यादि अनुसन्धानमा भेटिएकाले तिनैलाई प्राथमिकतामा राखी रोजगारी दिइने उपाध्यायले बताउनु भयो ।

उहाँले रोजगारी पसल नै संचालन गरी काम गरिने लगायतका विषयमा रहेर प्रतिवेदन नै वैठकमा प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार कार्यक्रम मार्फत् कुष्ठरोग सम्बन्धि सेवा, आत्म सम्मान र शशक्तिकरण, सामाजिक अखण्डता, अनुसंधान र सिकाई, श्रोत परिचालन लगायतमा ती विशिष्ट क्षमता भएका ब्यक्तिलाई समेट्दै १२ महिना नै रोजगारी दिइने छ ।

वैठकमा राष्ट्रिय अपांग महासंघ नेपालका संघिय अध्यक्ष मित्रलाल शर्मा, बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्याल, शिक्षा खेलकुद तथा युवा शाखाका प्रमुख बाबुराम भट्टराई, वडा नम्बर ५ का वडाध्यक्ष भीष्मराज भुषाल, वडा नम्बर ८ का गुणनिधि भुषाल, ९ का वडाध्यक्ष ध्रुव बेलबासे, १० का वडाध्यक्ष राम विहारी थारु, सामुदायिक रेडियो प्रसारक संघ कपिलवस्तुका संयोजक चन्द्रकान्त न्यौपाने, प्रोजेक्ट निर्देशक चिरञ्जिवी शर्मा, ज्ञान ब्यवस्थापन प्रमुख प्रतिज्ञा रिजाल, अपाङगताको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था लगायतको सहभागिता थियो ।

यो कार्यक्रम सम्पन्न गर्न बाणगंगा प्रतिवद्ध रहेको नगर उपप्रमुख अर्यालले बताउनु भयो भने अन्यले कार्यक्रम निकै प्रभावकारी भएकाले चाँडै कार्यान्वयनमा जोड दिनुभएको थियो । संस्थाकी रोजगारी परामर्शकर्ता गीता अर्यालले वैठकको सहजीकरण गर्नुभएको थियो ।

यसमा श्रम रोजगार तथा सामाजिक मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासंघ, नेपाल उद्योग बाणिज्य संघको समन्वय र सहकार्य रहने छ भने जिललाका स्थानीय पालिकाहरुले पनि आवश्यक समन्वय गरिदिने छन् ।

यो कार्यक्रम मोरङ, ललितपुर, काठमाण्डौँ, र रुपन्देहीमा पनि संचालित छ । यी सबै जिल्ला गरी रोजगारविहिन २५ सय अपाङ्गतत भएका ब्यक्तिलाई क्षमतावान् बनाई प्रत्यक्ष रोजगारी दिइने छ ।

प्रकाशित मिति : २२ असार २०७७ सोमबार ००:००  २ : ३७ बजे