१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन



काठमाडौं ।

मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताउनु भयो ।

कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको सरकारको भनाइ छ । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएको छ ।

लकडाउनका कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भएकाले यस्तो निर्देशन दिएको अधिकारीले बताउनु भयो ।

वैज्ञानिकहरुले हावाका कणमा पनि कोरोना भाइरस रहेको र त्यसबाट मानिस संक्रमित भइरहेको बताएका छन्। हावामा कोरोनाको जीवाणु रहेको प्रमाण वैज्ञानिकहरुले प्राप्त गरेको समाचार न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ।

महामारीको जीवाणु हावामै रहेको पुष्टि भएकाले वैज्ञानिकहरुले विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० लाई महामारीसँग सम्बन्धित निर्देशन र सतर्कता विधि बदल्न आग्रह गरेका छन्। वैज्ञानिकहरुले यसबारे जानकारी लिन र गम्भीर हुन डब्ल्यूएचओलाई पत्र नै लेखेका छन्। यो पत्र आगामी साता साइन्स जर्नलमा प्रकाशित गर्ने भनिएको छ।

प्रकाशित मिति : २२ असार २०७७ सोमबार ००:००  ४ : १६ बजे