२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

फाटेको नेकपालाई चाँडो तुन्न कपिलवस्तुका युवा र विद्यार्थीको दबाब



मायादेवी अनलाइन, चार नम्बर ।
एकिकरणपछि फुटको संघारमै पुगेको नेकपालाई एकढिक्का बनाउन आग्रह गर्दै कपिलवस्तुका विद्यार्थी र युवाहरुले दबाब अभियान थालेका छन् ।

तौलिहवामा रहेको पार्टी कार्यालयमा सोमबार दर्जनौँका संख्यामा युवा नेता र कार्यकर्ता भेला भएर एकिकरणको भावनाविपरित नजान नेतृत्वलाई आग्रह गर्दै बिभिन्न नारा लेखिएका पोष्टर प्रदर्शन गर्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

जति नै विवाद भए पनि कुनै हालतमा पार्टी फुट्न नहुने भन्दै विद्यार्थीले जिल्ला पार्टी कार्यालयमार्फत् नेतृत्वलाई दबाब दिइएको नेकपा जिल्ला सदस्य शिवलाल बन्जाडेले जानकारी दिनुभयो ।उहाँले पार्टी फुटबाट रोक्न युवाको हस्तक्षेपकारी भूमिका हुनु पर्ने बताउनु भयो ।

तल्लो तहबाटै अब एकिकरण मजबुत गराउन दबाब आवश्यक रहेको भन्दै नेतृत्व नसच्चिए युवाहरु थप कडा रुपमा प्रस्तुत हुने अनेरास्ववियूका पूर्व केन्द्रिय सदस्य तथा युवा नेता कमल भट्टराइले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

प्रदर्शन गर्ने युवाले पार्टी थप मजबुत गर,संस्थागत निर्णय लागू गर, पार्टी एकता जिन्दाबाद, पार्टीलाई नितिप्रधान बनाऊ नेताप्रधान होइन लगायतका पोष्टरहरु प्रदर्शन गरेका थिए । साथै सामाजिक संजालमा जथाभावि लेख्ने, कुनै एक नेताको संरक्षणमा अनावश्यक रुपमा भीँड जम्मा गर्नेहरुलाई पनि कारबाही गर्न माग गरिएको छ ।

दबाब कार्यक्रममा युवा नेता सर्वेन्द्रदेव खनाल, युवाका जिल्ला संयोजक विशालजंग कँुवर, शुशिल पौडेल, दयाराम पौडेल, नेत्र पाण्डे लगायत सहभागी थिए । कार्यकर्ताका मागहरुसहितको ज्ञापन पत्र आवश्यक ठाउँहरुमा पठाउन पार्टीकार्यालयमार्फत् आग्रह गरिएको जिल्ला कार्यालय सचिव धर्मराज भुसालले मायादेवीलाई बताउनु भयो ।

प्रकाशित मिति : २२ असार २०७७ सोमबार ००:००  ५ : ३२ बजे