२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

सरिता गिरी पार्टी र सांसद दुवैबाट निष्काशित



काठमाडौं ।
सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय समाजवादी पार्टी नेपालले गरेको छ। नेता रामसहायप्रसाद यादव नेतृत्वको छानबिन समितिले दिएको सिफारिसका आधारमा पार्टी पदाधिकारी बैठकले कारबाही गरेको हो।
पार्टीको निर्देशन विपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि उनले संसद र संसद बाहिर पनि त्यसको विरुद्ध अभिव्यक्ति दिँदै आएकी थिइन्।
समाजवादीले महासचिव यादवको नेतृत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो।
कार्यदलले छानविन प्रतिवेदन आजै पार्टीलाई बुझाएको थियो। पार्टी निर्णयअुनसार अब सांसदबाट हटाउनका लागि समाजवादीले संसद सचिवालयलाई पत्र पठाउने र उक्त जानकारी सचिवालयले निर्वाचन आयोगलाई दिएपछि उनी पदमुक्त हुनेछिन्।
समाजावदी पार्टीको समानुपातिक खस आर्य कोटाबाट गिरी सांसद भएकी थिइन्। उनी वैवाहिक अंगीकृत नागरिक हुन्।

प्रकाशित मिति : २३ असार २०७७ मंगलबार ००:००  ५ : २८ बजे