२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

अन्ततः सबैले देख्ने गरी ट्रम्पले लगाए कालो मास्क




एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः सार्वजनिक रुपमा बाहिर निस्कँदा सबैले देख्ने गरी मास्क लगाएका छन्।कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा आफूलाई प्रस्तुत गर्दै आएका र अरुले देख्ने गरी मास्क नलगाउने बताएका ट्रम्पले अन्ततः सार्वजनिक रुपमा प्रस्तुत हुँदा मास्क लगाएका हुन् ।

जनस्वास्थ्य विज्ञ तथा वैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमण रोक्न वा फैलिन नदिनका लागि महत्वपूर्ण हुने बताएको मास्क लगाउन लगातार अस्वीकार गर्दै आएका ट्रम्पले अमेरिकामा कोभिड–१९ बाट एक लाख ३४ हजार सात सय भन्दा धेरैको ज्यान गएपछि तथा ३२ लाख ४२ हजार भन्दा धेरै संक्रमित भएपछि मास्क लगाएका हुन् ।

वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड मिलिटरी हस्पिटलमा भेट्रानहरुसँगको भेटका लागि जाने क्रममा ट्रम्पले मास्क लगाएका हुन् ।मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिने क्रममा ट्रम्पले भने, ‘मलाई लाग्छ मास्क लगाउनु उत्कृष्ट कुरा हो, म कहिले पनि मास्कको विपक्षमा थिइनँ तर यसको पनि समय र स्थान हुन्छ भन्नेमा चाहिँ विश्वास छ ।’यसअघि ट्रम्पले आफूले मास्क नलगाउने बताएका थिए । अझ पत्रकारले देख्ने गरी त मास्क लाउँदै नलाउने उनको भनाई थियो ।

प्रकाशित मिति : २८ असार २०७७ आइतबार ००:००  ६ : ४२ बजे