११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

रविन्द्रको पार्टी साझा संकटमा, दुई खम्बा सूर्यराज र मुमारामले छोडे




काठमाण्डौँ ।
साझा पार्टीको सचिवालय सदस्य मुमाराम खनाल र डा सूर्यराज आचार्यले पार्टी परित्याग गरेका छन् । पार्टी केन्द्रीय समिति बैठिकमा आइतबार पार्टी भंग गरेर नयाँ संरचना अनुसार अगाडि बढ्नुपर्ने प्रस्ताव राखेसँगै उनीहरुले पार्टी छोडेका हुन् ।

युवा तथा बौद्धिक जमातको बाहुल्य रहेको साझा पार्टीमा आन्तरिक विवाद चर्किएको छ। पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दुईजना अगुवा राजनीतिक विश्लेषक खनाल र पूर्वाधार विज्ञ आचार्य साझाबाट अलग भएपछि यसको भविष्य अन्योलमा परेको छ।

पार्टीको संरचना साँघुरो भएको र वैकल्पिक राजनीतिको फराकिलो सोच नभएको भन्दै उनीहरुले आइतबारको केन्द्रीय कमिटिको बैठकमा पार्टीबाट अलग हुने घोषणा गरेका हुन्। वृहत् वैकल्पिक शक्ति निर्माणका लागि अहिलेको पार्टी संरचना साँघुरो भएकोले अलग हुने घोषणा गरेको खनालले बताए। उनले भने, यो क्लबजस्तो साँघुरो स‌ंरचना बनाएर वृहत् वैकल्पिक राजनीतिक अभियान अघि बढाउन सहज नदेखिएपछि हामी अलग भएका हौं।

‘यो पार्टीजस्तो भएन अत्यन्त साँघुरो संरचना भयो । पार्टीभन्दा पात्र ठूलो जस्तो भयो। वैकल्पिक राजनीतिको फराकिलो सोचसहित काम गर्ने उद्देश्यले हामी पार्टीबाट अलग भएका हौँ’, पार्टी परित्याग गरेको स्वीकार गर्दै नेता खनालले भने, ‘बृहत वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले साझा पार्टी गठन भएको थियो । तर, साँघुरो संरचनामा सीमित भयो । यसलाई अभियानको रुपमा अगाडि बढाउन सक्ने अवस्था भएन ।’

नेता खनालले बाहिर बसेरै साझाको अभियानलाई सहयोग गर्ने बताए । ‘बाहिर बसेर साझा अभियानलाई सहयोग गर्नेछौँ’, उनले भने, ‘यो पार्टी त हामी पात्र भन्दा पनि सानो भयो ।’ बैठकमा पार्टी प्रवक्तासमेत रहेका सचिवालय सदस्य सूर्यराज आचार्यले पार्टी भंग गरेर नयाँ ढंगले अगाडि बढ्नुपर्ने प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावमा अर्का सचिवालय सदस्य खनालले समर्थन जनाएका थिए ।

पार्टीमा संयोजक रवीन्द्र मिश्रको कार्यशैलीप्रति चर्को मतभेद रहेको छ । अहिलेको पार्टी भंग गरेर विवेकशील, साझासँगै रमेश खरेलसहितका विभिन्‍न समूहलाई समेटेर बृहत समूहलाई समेत समेटेर नयाँ पार्टी बनाउनुपर्छ भन्ने प्रस्ताव आचार्यको थियो ।

प्रकाशित मिति : २९ असार २०७७ सोमबार ००:००  ६ : ४९ बजे