६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

करको काम गर्न कृष्णनगर जाने बाध्यता टर्‍यो, आजदेखि तौलिहवामा सेवा सुरु



मायादेवी अनलाइन, चार नम्बर ।
कर सम्बन्धी सेवा लिन अब कृष्णनगर जानु पर्ने बाध्यता टरेको छ । आन्तरिक राजश्व कार्यालय कृष्णनगर कपिलवस्तुले तौलिहवामा कर दाता सेवा कार्यालय सुरु गरेसंगै यो बाध्यता टरेको हो ।

त्यसको लागि आर्थिक बर्ष २०७७।७८ को पहिलो दिन (साउन १ गते) देखि नै करदाता सेवा सम्बन्धी सेवा प्रवाह गर्ने गरी नयाँ टोलमा कार्यालय स्थापना गरिएको आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख पूर्ण प्रसाद न्यौपानेले मायादेवी अनलाइनसंग बताउनु भयो ।

अब जिल्लाका ६ पालिकाले तौलिहवाबाटै कर सम्बन्धि सेवा लिन पाउने छन् । कपिलवस्तु नगरपालिका, बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिकाका साथै मायादेवी, शुद्धोधन र यशोधरा गाउँपालिकाका करदाता लाभान्वित हुनेछन् ।

दर्ता, आय कर, मुल्य अभिवृद्धि कर, अन्तशुल्क, करचुक्ता लगायतका सेवाहरु लिन पाउने गरी व्यवस्था मिलाइएको सेवा कार्यालयका प्रमुख सुरेश महतोले जानकारी दिनुभयो । तर कर सम्बन्धि न्यायिक अधिकार (दण्ड, जरिवाना, अनुसन्धान) लगायतका कामहरु कृष्णनगरबाटै हुने बताइएको छ । यता सेवाग्राहीले पनि यो सुविधासंगै सहज हुने बताएका छन् ।

यी ६ पालिकाका करदाता सामान्य काम गर्दा पनि कृष्णनगर जानु पर्ने बाध्यताले दुख पाइरहेका थिए । तौलिहवामा कार्यालय खुलेपछि धेरै सहज भएको तौलिहवा व्यापार संघका अध्यक्ष गोपीकृष्ण शर्माले बताउनु भयो ।

आन्तरिक राजश्व कार्यालय कृष्णनगरले अव जिल्लाको पश्चिम क्षेत्रका ४ पालिका शिवराज, कृष्णनगर, महाराजगंज नगरपालिका र विजयनगर गाउँपालिकाका करदातालाई सेवा प्रवाह गर्नेछ ।

कार्यालयका प्रमुख न्यौपानेले साउनकै पहिलो हप्ता भित्र अर्घाखाँची जिल्लामा पनि सेवा कार्यालय विस्तार गरिने बताउनुभयो । यससंगै अर्घाखाँचीबाट कृष्णनगर धाउनुपर्ने सेवा ग्राहीको बाध्यता पनि टर्ने उहाँले विश्वास लिनुभएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७ बिहिबार ००:००  २ : ५५ बजे