२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

प्रचण्ड र ओलीबीच आज पनि छलफल



काठमाडौं ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार बिहान छलफल भएको छ। ओलीसँग छलफल गर्न प्रचण्ड ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। बालुवाटारमा दुई अध्यक्षबीच झन्डै दुई घन्टा कुराकानी भएको थियो।

१३ गते बस्ने स्थायी समिति बैठक कसरी सञ्चालन गर्ने विषयमा दुई अध्यक्षबीच आज छलफल भएको स्रोतले बतायो। नेकपामा पछिल्लो समय प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले पार्टी र सरकार हाँक्न नसकेको भन्दै राजीनामा मागेका छन्।

दुबै पदबाट राजीनामा दिनुपर्ने उनीहरूको माग ओलीले अस्वीकार गर्दै आएका छन्। यही विवादको कसरी समाधान गर्ने भन्नेबारे दुई अध्यक्षबीच पटक पटक कुराकानी भएको छ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले मंसिरमा पार्टी महाधिवेशन गरेर प्रचण्डलाई एकल अध्यक्ष बनाउने प्रस्ताव गरेका छन्। प्रचण्डले भने उक्त प्रस्तावमा आफू सहमति नभएको नेपालपक्ष र आफूनिकट स्थायी समिति सदस्यलाई स्पष्टिकरण दिएका छन्।

नेकपा स्थायी समिति बैठक साउन १३ गतेका लागि बोलाइएको छ। यसैबीच प्रचण्डसँगको भेटअघि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि बालुवाटारमा कुराकानी गरेका थिए।

ओली देउवा भेटमा भएको कुराकानीबारे खुलाइएको छैन। दुई नेताबीच बिहीबार पनि भेट भएको थियो।

प्रकाशित मिति : ९ श्रावण २०७७ शुक्रबार ००:००  १ : ३० बजे