९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

कसैले फुटाउन खोज्दैमा नेकपा फुट्दैनः माधव नेपाल



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले कसैले फुटाउन खोज्दैमा नेकपा नफुट्ने दाबी गरेका छन्।
शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै सचिवालय तथा स्थायी समिति सदस्यसमेत रहेका उनले भने,‘नेकपा फुट्दैन। कोही चोइटिन खोजेमा चोइटिएला तर फुट्दैन।’ उनले आफू नै राज्य हो र आफूबिना संसार चल्दैन भन्ने भ्रममा समेत नपर्न आग्रह गरेका छन्।

‘मनै राज्य हो मबिना संसार चल्दैन भन्ने भ्रममा नपरौं’,उनले भने,‘आफूसँगै आन्दोलन समाप्त पार्ने प्रयास नहोस्।’ अब पार्टी नयाँ सिराबाट अगाडि बढ्नुपर्ने बताएका छन्। त्यसको लागि ढिला गर्न नहुने उनले बताए।

‘नयाँ सिराबाट अगाडि बढ्ने परिकल्पना गरौं। अब ढिला हुन लागिसकेको छ।’ उनले नीति र विचार ठूलो रहेको भन्दै पार्टी विधि र पद्धति अनुसार चल्नुपर्नेमा जोड दिए।

‘बहुमतको निर्णय पार्टीको निर्णय हो। यसलाई सबैले मानौं । त्यसलाई मान्दिनँ भनेर कसैले सुख पाउदैन। सबैमा बुद्धि पलाओस्, यसमै सबैको भलो हुनेछ।’ केही महिनादेखि नेकपाभित्र आन्तरिक विवाद चल्दै आएको छ। आन्तरिक विवाद साम्य पार्नको डाकिएको स्थायी समिति बैठक पटक-पटक स्थगित हुँदै आइरहेको छ।

स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि विवाद झन् पेचिलो बन्दै गइरहेको छ। दुबै पदबाट राजीनामा दिनुपर्ने उनीहरूको माग ओलीले अस्वीकार गर्दै आएका छन्।

प्रकाशित मिति : ९ श्रावण २०७७ शुक्रबार ००:००  २ : ४१ बजे