१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

आज विश्व बुबाआमा दिवस, सामाजिक संजालले पारिवारिक सम्बन्ध विगार्दै



मायादेवी अनलाइन, चार नम्बर ।
आज विश्व बुबा आमा दिवस । विश्वभरका सन्तान छोराछोरीले आजको दिनमा जन्म दिने आमाबुबाप्रति विशेष सम्मान भाव ब्यक्त गर्दछन् । बुवाआमा बन्नु एउटा जिम्मेवारी अनि कर्तव्य दुबै हो भने छोराछोरी बन्नु पनि स्वभावतः एउटा जिम्मेवारी अनि कर्तव्य दुबै हो ।

बुवाआमाको महत्व सबैले बुझ्न जरुरी छ । यस वर्षको विश्व आमाबुवा दिवसको सबैमा शुभकामना, श्रवण कुमार जस्ता छोराछोरीको सबैलाई अपेक्षा छ । आजको सन्तान भोलीका आमाबुवा पनि त हुन् । आमाबुबा दिवसमा सधैँ काठको कचौराको कथा जोडिएर आउँछ ।

काठको कचौराको कथा पनि बडो रोचक छ, जहाँ ३ पुस्ताको मनोवृती वर्णन गरिएको छ । सधैं खाना टेबलमा पोखेर खाने हजुरबुवाको हात काम्ने समस्या हुन्छ जसले गर्दा उनले खाना खाँदा खाना पोखिने अनि कचौरा झरेर फुट्ने गर्दछ । बुवा अर्थात सानो फुच्चे अनि नातीकेटाका बुवा अनि आमाले हजुरबुवा अर्थात आफ्ना बुवाको यस समस्यालाई जानीजानी गरेकोर नाटक गरेको भनी सम्वोधन गर्दछन् । यसरी संधैजसो कचौरा झारेर फुटाउनु भन्दा बरु एउटा नफुट्ने काठको कचौरा बनाएर हजुरबुवालाई टेबलमा खान नदिई अब बाहिरै खान दिन थालिन्छ । एक दिन नाती केटो आफ्ना आमाबुवा कार्यलयवाट फर्कदा काठको टुक्रासंग खेलिरहेको पाइयो, आमाबुवाले के गरेको भन्ने प्रश्न गर्दछन् ।

नातीले वडो सरल ढगंले तपाँईहरुको लागि पनि काठको कचौरा बनाइरहेको छु भनी जवाफ दिन्छ । आखिर नयाँ पुस्ताले यस पुस्ताबाटै सिक्ने त हो ? यो जवाफ सुनेपछि उसका आमाबावु आफ्नो गल्तीको पश्चाताप गर्दै भोलीपल्टैबाट बुवालाई संगै टेबलमा राखेर अनि फुटेपनि काँचकै कचौरामा आफुसरह खाना दिन थाल्दछन् । आँउदा पुस्तालाई देखाउन र पाठ सिकाउनका लागि भएपनि आमाबुवा लगायत पुराना पुस्तालाई सम्मान र सदभाव देखाउन जरुरी छ । तर बढ्दो सामाजिक संजालको प्रयोगले आमाबुबा र सन्तान छोराछोरीबीचको दुरी बढ्दो छ ।

युरोप र अमेरिकामा त बुबा आमा र सन्तान छोराछोरीको सम्बन्ध निकै घट्दै छ भने पूर्विय मुलुकहरुमा आमाबुबा र सन्तान छोराछोरीको महत्व ज्यादा रहेको देखिन्छ । तर पछिल्लो समय भने नेपाललगायतका पूर्विय दर्शनका मुलुकमा बुबाआमाको सन्तान छोराछोरी र सन्तान छोराछोरीमाथि बुबाआमाको उत्तरदायित्व घट्दै गएको छ । त्यसैले छोराले आफ्नै आमाबुबाको हत्या गरेको, गाली गलौज गरेको र बुबाआमाले पनि छोराछोरीको हत्या गरेको लगायतका खबरहरु संचारमाध्यममा आइरहन्छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७ आइतबार ००:००  ६ : ३४ बजे