२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

प्रदेश ५ सहितका स्थानमा भारी बर्षाको सम्भावना



काठमाडौं ।
आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

त्यस्तै, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश १, प्रदेश २, बागमती र कर्णाली प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

नेपालको तराई भूभाग नजिक न्यून चापीय रेखा रहेकाले मनसुन थप सक्रिय भई आज र भोलि वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए ।

उनका अनुसार यसवर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुवान र पहिराको जोखिम बढेको बताइएको छ ।

मनसुन सक्रिय भएसँगै नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाँउमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

उता कैलालीमा वर्षासँगै आएको बाढी गाउँ पसेपछि एक सय बढी घर डुबानमा परेका छन । कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार जोशीपुरमा काडा नदी गाउँ पसेपछि २५ घर डुबानमा परेका छन । उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

यस्तै पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुबानमा परेका छन । काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० बढी घर डुबानमा परेका प्रहरी नायब उपरीक्षक विष्टले बताउनु भयो ।

प्रकाशित मिति : १४ श्रावण २०७७ बुधबार ००:००  ९ : ३० बजे