२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

कांग्रेस नेता जोशी भन्छन्ः विरोधी कार्यकर्ता तर्साउन मलाई कारबाही



काठमाडौं ।
नेपाली कांग्रेसको अनुशासन समितिबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीले विरोधी कार्यकर्तालाई तर्साउन आफूलाई कारबाही गरिएको टिप्पणी गरेका छन् ।

आफ्ना मान्छेलाई पार्टीमा टिकट दिएर कार्यकर्तालाई रुवाउनु हुँदैन भन्ने आवाज उठाउने र अन्यायको विरुद्धमा बोल्नेहरुलाई तर्साउन आफूमाथि कारबाही भएको बताएका छन् । 

नेता जोशीले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको कदमका विरुद्धमा बोल्नेलाई तर्साउन आफूमाथि कारबाही गरिएको बताएका हुन् । 

उनले भने, ‘मैले त अन्यायविरुद्ध धेरै अगाडि देखि बोलिराखेको छु । यिनीहरुलाई के रैछ भन्दाखेरी गोविन्दराज जोशीलाई आक्रमण गर्ने कुरामा निर्णय गर्ने कुरा एउटा कुरा हो । मलाई आक्रमण गरिसकेपछि अरुलाई तर्साउन सजिलो भयो ।’

नेता जोशीले आफूमाथि कारबाही गर्ने निर्णय र पार्टीमा केही मानिसहरुलाई प्रवेश गराउने कार्यले पार्टीभित्र इमान्दार र निष्ठावान कार्यकर्ताको उपस्थिति नहुने निश्चित भएको बताए । 

उनले पार्टीका नेताहरुको स्वर्गारोहणको बेलामा मात्रै उपस्थिति जनाउन पाउने व्यक्तिलाई पार्टीभित्र प्रवेश गराइएकाले लामो समयदेखि योगदान दिएका इमान्दार कार्यकर्ताको आत्मसम्मानको अन्त्य भएको बताए । 

यो विषयमा आवाज उठाउँदा पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बिझेकाले आफूमाथि कारबाही गरिएको बताए । 

उनले भने, ‘अहिलेको मेरो निर्णय साथसाथै पार्टीमा प्रवेश गराइएका मानिसहरुको उपस्थितिले नेपाली कांग्रेसको पार्टी कार्यालयमा कुनैपनि इमान्दार निष्ठावान कार्यकर्ताको उपस्थिति हुँदैन । हुन त पार्टीले त्यस्ता मान्छेहरुलाई केवल हाम्रो नेताहरु कोही स्वर्गारोहण भए त्यो बेलामा उपस्थिति हुने मात्रै मौका दिन्थ्यो । तर अब इमान्दार कार्यकर्तालाई त्यहाँ जाने कुरा आत्मसम्मानको विषय रहेन । तर मैले यो कुरा भन्दा रामचन्द्रजी र शेरबहादुरजीलाई बिझेछ । मैले परिवारका मान्छेलाई टिकट दिनुहुँदैन, पैसामा टिकट बेच्नु हुँदैन, आफ्ना मान्छेलाई टिकट दिएर कार्यकर्तालाई रुवाउनु हुदैन भन्दा उहाँहरुलाई बिझिराखेको रहेछ । पार्टी त अब उभो लाग्दै लाग्दैन ।’

पार्टीलाई केही मान्छेहरुको नियन्त्रण र गठबन्धनको गुटको रुपमा विकास गरिएको नेता जोशीले आरोप लगाए । 

‘पार्टीलाई केही मान्छेहरुको एउटा आफ्नो नियन्त्रणको गठबन्धनको एउटा गुटको संगठन बनाउने जो बाटोमा उनीहरु गएका छन् । त्यसले अहिले सफल भएको देखिएला तर यसले पार्टीलाई राम्रो गर्दैन,’ उनले भने । 

कांग्रेसमा न्याय हराएको टिप्पणी समेत नेता जोशीले गरेका छन् । उनले न्याय बिनाको निर्णयविरुद्ध, प्रवृत्तिका विरुद्ध र न्याय विनाको निर्णय गर्ने पदाधिकारीहरुका विरुद्ध कार्यकर्ताहरु एकस्वरले उभिन नसक्दासम्म कांग्रेस जोगिन नसक्ने बताए । 

अहिले नै आवाज उठाउन नसक्ने हो भने केही व्यक्तिको गुटको भेलाले कार्यकर्तालाई बगाएर लैजाने समेत नेता जोशीले टिप्पणी गरे । उनले भने, ‘अहिले कांग्रेसमा न्याय बिनाको निर्णय भइरहेको छ । मेरो बारेमा पनि त्यहि भएको हो । टिकट बाँड्दा पनि त्यहि हुन्छ । भोलिका दिनमा पनि त्यहि हुन्छ । त्यसैले न्यायबिनाको निर्णय गर्ने पदाधिकारी र व्यक्तिविरुद्ध कार्यकर्ताहरु एकस्वरले उभिन सक्यो भने यो नियन्त्रण हुन्छ । नभए यो भेलले कार्यकर्तालाई बगाएर लैजान्छ ।’

पछिल्लो गतिविधि हेर्दा पार्टी पतनको बाटोमा गएको स्पष्ट भएको समेत नेता जोशीले बताए । उनले पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलका पछि लाग्ने व्यक्तिमा अलिकति विश्वास नभए पार्टीमा टिकट नै नपाउने र पाएपनि भोट नहाल्न निर्देशन दिने गरिएको खुलासा गरे । 

पार्टीमा योगदान दिएको हिसाबले केन्द्रीय समितिमा आफूभन्दा सिनियर मान्छे कोहीपनि नभएको दाबी नेता जोशीले गरे ।

उनले कांग्रेसमा योगदान पु¥याएको हिसाबले सभापति देउवा र वरिष्ठ नेता पौडेल भन्दा आफू माथि रहेका समेत बताए । उनले आफू पार्टीमा कुनैपनि तरिकाले चाकडी गर्न नजाने समेत स्पष्ट पारे । 

पार्टी नेतृत्वसँग कुण्ठाको विकास भएकाले इमान्दार कार्यकर्तामाथि कारबाही भएको बताए । उनले भने, ‘म उहाँहरुलाई चाकडी गर्न जान्नँ, उहाँहरुभित्र कुण्ठा रहेछ । हामीलाई नमान्ने, म आउँदा खेरी उठ्यो कि उठेन, मलाई टाढैबाट नमस्ते ग¥यो कि गरेन । त्यो कुण्ठाले गर्दा म मात्रै होइन उहाँहरुको नजिक नहुनेहरु सबै पीडाभागी भएका छन् । यो दुर्भाग्य हो ।’

फरक प्रसङ्गमा बहुदलीय अभ्यासमा दलको सरकार हुने तर दुर्भाग्यवस अहिले कुनैपनि दलले राम्रोसँग काम गर्न नसकेको टिप्पणी समेत नेता जोशीले गरे । 

प्रजातन्त्रमा प्रमुख प्रतिपक्षी अराजक भयो भने सरकार गैरजिम्मेवार हुने र प्रतिपक्ष जिम्मेवार भयो भने सरकार नियन्त्रणमा हुने भएपनि अहिले प्रतिपक्षको भूमिका नै नदेखिएको बताए । 

कांग्रेसले सत्तारुढ दल रिसाउँछ भनेर प्रतिपक्षको भूमिका खेल्न नसकेकोले सरकार स्वेच्छाचारी भएको बताए । 

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  ६ : ३२ बजे