२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

लकडाउन अवधिको घर भाडा नलिन सर्वोच्चको आदेश



काठमाडौं ।
सर्वोच्च अदालतले लकडाउन अवधिको भाडा नलिन घरधनीहरुका नाममा आदेश जारी गरेको छ । चैत ११ गतेदेखि साउन ६ गतेसम्म सरकारले लकडाउन गरेको थियो ।

लकडाउन हटेको ९ दिनपछि सर्वोच्च अदालतले घरधनीहरुका नाममा आदेश जारी गर्दै घरभाडा नलिन भनेको हो । कोरोना महामारीबाट जनतालाई जोगाउन भन्दै सरकारले करिब ४ महिना देशभर लकडाउन गरेको थियो । चैत ११ देखि साउन ६ गतेसम्मको भाडा नलिन सर्वोच्चले आदेश दिएको हो ।

ओबिसी महासंघका तर्फबाट गजेन्द्र ठाकुरले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सरकार र सातै प्रदेशका मुख्यमन्त्रीको नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

नाई संघका तर्फबाट सम्पूर्ण श्रमिकले यो अवधिमा आम्दानी नगरेकाले भाडा तिर्न नसक्ने भन्दै रिट हालिएको थियो । घरभाडा छुट दिनुपर्ने माग गर्दै ठाकुरले असार २१ गते सार्वजनिक सरोकारको रिट दायर गरेका थिए । उक्त रिटमाथि दुवै पक्षले गरेको बहसपछि सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

यसअघि नै सरकारले घरधनीहरुलाई लकडाउनको समयको केही अवधिको भाडा नलिन अपिल गरिसकेको थियो । घरभाडा लिए नलिएको अनुगमनको जिम्मेवारी स्थानीय सरकारलाई दिइएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  १० : ४८ बजे