६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको छः राष्ट्रपति सी



काठमाण्डौ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको बताउनुभएको छ । नेपाल चीन सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध थप विस्तार गर्नु आफ्नो प्रमुख महत्वको विषय रहेको बताउनुभएको हो ।

उहाँले द्विपक्षीय सम्बन्ध विस्तारका लागि नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग सहकार्यको चाहना पनि व्यक्त गर्नुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । कूटनीतिक सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति सीले दुई देशका नागरिकको हितका लागि काम गर्न तयार रहेको बताउनुभएको छ ।

यस्तै उहाँले क्षेत्रीय स्थायित्व तथा विकासका लागि पनि नेपालसँगको सम्बन्ध विस्तार आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको खबरमा उल्लेख छ । नेपाल-चीनबीच सन् १९५५ को अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

स्थापना दिवसको अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले बधाई सन्देश आदानप्रदान गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनपिङलाई सन्देश पठाएर नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आउँदा दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७ शनिबार ००:००  १ : ५७ बजे