७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तुमा पनि मनाइयो तीन छठ्ठी पर्व



मायादेवी अनलाइन, कपिलवस्तु ।

आफ्नो पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु मधेसी समुदायका महिलाहरुले सोमबार कपिलवस्तुमा धुमधामका साथ तीन छठ्ठी पर्व मनाएका छन् । आफ्ना सन्ता र श्रीमानको लामो आयुको कामना गर्दै उनीहरुले हर्षोउल्लासका साथ सो पर्व मनाएका हुन् ।

कारोना भाइरसका कारण जिल्लामा यस वर्ष अधिकांशले घरमै कुश ल्याई परिवारसंगै मनाएका छन् भने कैयौले घर नजिकै रहेका कुशमा पूजाअर्चना गरेका छन् । भदौ शुक्ल षष्ठीको दिन पर्ने सो चाड ब्रतालुहरुले उम्रेको कुशको पूजा गर्ने गर्छन् । पर्वका दिन बिहानै ब्रतालु महिलाले महुवाको दतिवनले दात माझ्ने चलन छ ।

सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी ब्रत, पूजापाठ र भजन किर्तन गरी तीन छठ्ठी पर्व मनाउने गर्दछन् ।

छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दीर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिउन भनि यो ब्रत राख्ने चलन रहेको कपिलवस्तु नगरपालिका–१ राजपुरकी उर्मिला पासीले बताइन् । उनले ३ छठ्ठी माताको ब्रत बस्ने परिवार कै फलीफाप हुने बिश्वास ब्यक्त गरिन् ।

उपवास सकेपछि हलो नजोतिएको खेतको अन्न अर्थात (तिन्नीको भात) जङ्गली धानको चामलको भात र साग खाएर महिलाहरुले ब्रत गर्ने गर्दछन् । ब्रतका बेला कुशसंगै देवीहरुको मन्दिरमा पूजाआजा गर्ने प्रचलन छ ।

पूजाका लागि चिनी नहालेको दहि, हर्दी, चामल महुवा र चनाकालाई एकै ठाँउमा मुछेर प्रसाद बनाईन्छ । ब्रतालु प्रत्येक महिलाले ३ वटा पनास र ७ वटा महुवाको पातमा सो प्रसादलाई राखेर कुशलाई चढाउने गरिन्छ ।

कुशको पूजा गरी त्यसमा ६ वटा गाठो बाध्ने गरीन्छ कुशको सामूहिक पूजा सकिएपछि महिलाहरुले समूह बनाएर तीन छठ्ठी पर्वको कथा समेत सुनाउने गर्दछन् । तीन छठ्ठी पर्व मान्ने महिलाहरुको संख्या बढदै गएको कपिलवस्तु नगरपालिका– २ जमुहार टोल की अनिता त्रिपाठीले बताइन् ।

बैद्यिक कालमा एक जनप्रेमी राजाले अनिकाल परेको भन्दै पोखरी खनाएका थिए । तर पोखरीमा पानी नआएपछि उनले आफ्नो नातीको बली दिए पश्चात् पोखरीमा पानी निस्किएको थियो ।

त्यसपछि राजाकी बुहारीले तीन छठ्ठी देवीको ब्रत राख्दा पुनः राजाको नाती जीवित भएको प्रसङ्ग जोडी यो ब्रत गर्ने प्रचलन रही आएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  ५ : २३ बजे