१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

घरभाडा छुट र भवन उपलब्ध गराउने उद्योग वाणिज्य संघको निर्णय



मायादेवी अनलाइन, चारनम्बर ।
कोभिड १९ को महामारीका कारण उद्योग व्यवसाय र बजार नराम्ररी प्रभावित भएको भन्दै कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाले कार्यक्षेत्रका घरधनीलाई कम्तीमा १ महिनाको घरभाडा नलिन आग्रह गरेको छ ।

संघको सोमबार विहान बसेको नियमित वैठकले कार्यक्षेत्रका घरधनीलाई कोरोनाका कारण उद्योग व्यवसाय लामो समयसम्म प्रभावित भएकाले १ महिनाको घरभाडा छुट गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

सरकारले गरेको लकडाउनका अवधीमा नगरक्षेत्रमा राहत वितरणमा आवश्यक सहयोग, स्वास्थ्य सचेतना तथा बजारलाई व्यवस्थित गर्दै महामारीमा अग्रणी भूमिका खेलेको कपिलवस्तु उद्योग वाणिज्य संघले व्यवसायीहरु संकटमा परेकाले सम्पूर्ण घरधनी तथा सदस्याहरुलाई एक महिनाको घरभाडा छुट गर्न आग्रह गरेको संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो । उहाँले केही धरधनीले स्वतस्र्फुत १ महिनाको घरभाडा छुट गरिसकेकाले धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

वैठकले यातायात व्यवस्था कार्यालयले कपिलवस्तु र अर्घाखाँचीमा सेवा कार्यालय विस्तारको लागि भवनको खोजी गरेकाले संघले आफनो भवन उपलब्ध गराउने निर्णय गरेको छ ।

संघले उद्योगी व्यवसायीलाई सीपमुलक दक्ष जनशक्तिको आवश्यकता परेको हुँदा प्रदेश र संघ सरकारले संचालन गर्ने व्यवसायिक सीपमुलक तालिमका लागि आवश्यक समन्वय र सहकार्य गर्ने जनाएको छ ।

कोभिड १९ को संक्रमण समुदाय तहमा फैलिएकोले नगरक्षेत्रका उद्योगी व्यवसायीको नमुना पिसिआर परीक्षणका लागि वाणगंगा नगरपालिकासंग समन्वय गर्दै नामावली तयार गरेको महासचिव लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

वैठकमा सदस्यता नविकरण, लेखा परिक्षण, विगतवर्ष देखिको क्यालेण्डरको बक्यौता रहेकाले तत्काल उठाउने कार्यमा छलफल भएको कोषाध्यक्ष मोहन न्यौपानेले जानकारी दिनुभयो ।

सरकारले कोरोनाको संक्रमण फैलिन नदिन चैत्र ११ गते देखि लागु गरेको लकडाउनले लामो समय उद्योगी व्यवसायी थला परेको भन्दै संघले सरकारसंग राहत प्याकेज र वित्तिय संस्थाहरुमा व्याज छुट गर्न दवाव दिदै आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७ सोमबार ००:००  २ : १७ बजे