१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

प्रदेश ५ सहित ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह



काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान देशका अधिकांश भूभागमा समान्य देखि पूर्ण बदली रहेको छ । सबै प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागले आज दिउँसो प्रदेश नं ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आजराति देशभर सामान्य वदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेश, प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन विभागले भनेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७ बुधबार ००:००  ८ : २५ बजे