१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कृष्णनगरबाट २४ लाख ५० हजार भारु बरामद, कारोबारी झोला छोडेर भागे



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको कृष्णनगरबाट बुधबार विहान अवैध २४ लाख ५० हजार भारतीय रुपैयाँ बरामद भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म हेडक्वाटरबाट खटिएको टोलीले विहान पौने ५ बजे चेकजाँचको गर्ने क्रममा नगरपालिका वडा नं. १ स्थित लक्ष्मी राईस मिल (सेमरा) को पछाडीबाट सो रकम बरामद गरेको हो ।

एक ब्यक्ति भारततिरबाट झोला बोकी आइरहेको अवस्थामा शंका लागेपछि प्रहरीले चेकजाँच गर्न खोज्दा ती व्यक्ति एक्कासी भागेको सशस्त्र प्रहरी नायव उपरिक्षक सुशील कुमार शाहीले जनाउनु भयो । ती व्यक्ति भारततर्फ भागेको बताइएको छ ।

झोला खोलेर हेर्दा ५०० रुपैयाँका ४९ सय थान भारतीय नोट रहेको थियो । सेनेटाइजर र उच्च रक्तचापमा प्रहयोग हुने औषधीमा त्यो रकमलाई लुकाएर राखिएको थियो । रकम जोड्दा २४ लाख ५० हजार भारतीय र ३९ लाख २० हजार रुपैयाँ नेपाली रुपैयाँ हुन आउँछ ।

बरामद भएको रकम राजश्व अनुसन्धानन कार्यालय बुटवल लगिने छ भने औषधी गुल्ममै नष्ट गरिने शाहीले बताउनु भएको छ ।

फरार कारोबारीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । कारोबारमा अरु पनि संलग्न हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

रकम बरामद गरेपछि स्थानीय सरोकारवाला र प्रहरीको रोबरमा सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७७ बुधबार ००:००  १० : ०९ बजे