१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुका एसपी अधिकारीको प्रश्नः प्रहरीलाई देखेपछि मात्र मास्क लगाउने हो र ? (अन्तर्वार्ता)



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना नियन्त्रणको लागि सबैभन्दा पहिले जनतामा चेतनाको स्तरमा वृद्धि हुनुपर्नेमा कपिलवस्तुका प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले जोड दिनु भएको छ ।

कोरोना नियन्त्रण गर्न प्रहरी प्रशासन आफ्नो तर्फबाट पूर्ण रुपमा लागेको भए पनि जनतामा चेतनास्तर कमजोर हुँदा कोरोना नियन्त्रणभन्दा बाहिर गएको प्रहरी उपरिक्षक अधिकारीले बताउनु भएको हो ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको नियमित कार्यक्रम समय संवादसंग विहीबार विहान अन्र्तवार्ता दिने क्रममा एसपी अधिकारीले सामाजिक दुरी कायम गर्न, बाहिर हिंड्दा अनिवार्य मास्क लगाउन, साबुन पानी या सेनेटाइजर प्रयोग गर्न पटकपटक भनिए पनि जनताले जर्वजस्त लादिएको रुपमा बुझ्दा समस्या भएको बताउनु भयो ।

समाजमा मास्क लगाउने प्रचलन र प्रहरीको अगाडी मात्र लगाउने संस्कारमाथि पनि उहाँले प्रश्न उठाउनु भएको छ । प्रहरीलाई देखेपछि मास्क लगाउने हो र ? सामाजिक दुरी प्रहरीको लागि कायम गरिदिने हो ? आखिर लकडाउन कसको लागि ? उहाँले थप्नुभयो, ‘यसरी कोरोना नियन्त्रण हुँदैन । प्रहरी गल्लीगल्ली पनि पुग्न सक्दैन । सबैले मिलेर मात्र कोरोनाविरुद्धको लडाइमा जित हासिल गर्न सकिन्छ ।’ उहाँले थप्नुभयो, ‘यसरी कोरोना नियन्त्रण हुँदैन । प्रहरी गल्लीगल्ली पनि पुग्न सक्दैन । सबैले सचेतना अपनाएर कोरोनालाई समुदायस्तरमा फैलन दिनु हुँदैन ।’

खुला सिमानाको कारण बिभिन्न तस्करी हुनु, नदीजन्य पदार्थको दोहन, महिला हिंसाका घटना, हत्या, हिंसा, बलात्कार कपिलवस्तुका प्रमुख समस्या भएकाले यसैको प्राथमिकीकरणअनुसार सुरक्षा रणनीति बन्ने अधिकारीको भनाई छ ।

बिभिन्न आपराधिक तथा समाजमा विकृति फैलाउने घटनामा राजनैतिक दबाब नआउने हो भने पनि धेरै कुरामा सुधार ल्याउन सकिने उहाँको अनुभव छ । उहाँले कोही कसैसंग मिलेमतो नगर्ने, नदीजन्य पदार्थको दोहनमा सेटिङ मिलाउने प्रहरीहरुलाई पनि कानुन बमोजिम आफूले कारबाही गर्ने प्रतिवद्धता जनाउनु भयो ।

कानुनको दृष्टिमा साना ठुला कोही नभएको भन्दै पहुँचको भरमा गलत गर्ने उम्कने र पहुँच नहुँदा निर्दोशले पनि सजाय पाउने कुरा आफू कहाँ कहिल्यै नचल्ने अधिकारीले बताउनु भयो ।

गाउँ समाजमा भएका घटनामाथि सर्वसाधारणले समयमा जानकारी गराउने र मिडियामार्फत् सत्य कुरा मात्र सार्वजनिक भएको खण्डमा समाजमा शुशासन कायम गर्न समस्या नहुने उहाँले अन्तर्वार्तामा बताउनु भयो । समुदायस्तरमा कोरोना फैलिएपछि साउन ३२ गतेसम्म जिल्लामा पूर्ण लक डाउन भएकाले पालना गर्न अनुरोध गर्दै अधिकारीले अवस्था हेरेर भोलीको दिनमा अरु निर्णय हुने बताउनु भयो ।

उहाँले कोरोना महामारी नियन्त्रण गर्न स्थानीय सरकार, उद्योग बाणिज्य संघ, सामाजिक संघसंस्था, पत्रकार सबै उत्तरदायी भएर लाग्नु पर्ने पनि बताउनु भयो ।

कार्यक्रमको पूरा भाग तलको लिंकमा सुन्नुहोला ।

प्रकाशित मिति : २९ श्रावण २०७७ बिहिबार ००:००  १० : ०२ बजे