१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

उपत्यकामा निषेधाज्ञा लागू भएसंगै सडकमा कडाई



काठमाण्डौ ।

उपत्यकामा निषेधाज्ञा लागू भएको छ । गएराति १२ बजेदेखि आउँदो बुधबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू भएको हो ।

अहिले चोक(चोकमा सुरक्षाकर्मी खटिएका छन् । अत्यावश्यक कामबाहेक हिँड्नेलाई प्रहरीले रोकेको छ । मर्निङवाकमा समेत ननिस्कन प्रहरीले आग्रह गरेको छ ।

अत्यावश्यकबाहेकका कामका लागि निस्किएको पाइए सुरक्षाकर्मीले सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्नेछन् । यो ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएकाले यसअघि लकडाउनमा अपनाइएको सहजीकरण समेत यसपटक हुने छैन ।

अनावश्यकरुपमा घरबाट निस्किए कारबाही हुनेछ । सार्वजनिक तथा निजी गाडी चलाउन पाइने छैन भने कुनै गाडीको पास पनि जारी हुने छैनन् । काठमाण्डौ उपत्यकाभित्र गाडी प्रवेशमा पनि निषेध गरिएको छ । यस्तै खाद्यान्न, औषधिजन्य बाहेकका ढुवानीसमेत रोकिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबारको बैठकले गए रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको हो । यसैबीच अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने, जम्मा गर्ने वा लुकाउने, सहज आपूर्तिमा अवरोध गर्नेलाई कडा कारबाही गर्ने पनि चेतावनी दिइएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७ बिहिबार ००:००  ७ : ४३ बजे