२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

एमसीसी जस्ताको त्यस्तै पारित नहुने



काठमाडौं ।

संसद्बाट अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन हुन नसक्दा यो परियोजना के होला भन्ने आशंका जारी छ । अर्कोतिर सत्तारुढ दलले दुईदिन अघि तयार पारेको एउटा आन्तरिक प्रतिवेदनमा एमसीसी जस्ताको त्यस्तै पारित गर्न नसकिने निष्कर्ष निकालेको छ ।

“नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कर्पोरसनबीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता यतिबेला संसदमा अनुमोदनको लागि विचाराधीन अवस्थामा छ । उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नुअघि आवश्यक अध्ययन गरी सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोस्रो बैठकबाट कार्यदल गठन गरिएको थियो ।

कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सो सम्बन्धी कार्यदलको प्रतिवेदनउपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने । उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने,” नेकपाका अध्यक्षद्वयसमक्ष पुगेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

उल्लेखित बुँदाअनुसार एमसीसीका केही बुँदा संशोधन नभइ पारित हुने अवस्था देखिँदैन ।प्रधानमन्त्रीसहित केही मन्त्रीले जुनसुकै अवस्थामा भए पनि संसद्बाट एमसीसी कम्प्याक्ट अनुमोदन गर्ने बताइरहँदा सत्तारुढ दलभित्रैबाट चर्को विरोध भएरपछि संसद्मै अघि बढ्न सकेको छैन ।

कतिसम्म भने सत्तारुढ दलका सांसदहरुले जस्ताको त्यस्तै अनुमोदन गरिए आफूहरुले विरोधमा मतदान गर्ने चेतावनी दिएपछि आन्तरिक छलफल थालिएको हो ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  ६ : ११ बजे