४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

त्रिभुवन विश्वविद्यालय गैरजिम्मेवार बनेको नेविसंघको आरोप



काठमाडौं ।

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय गैरजिम्मेवार बनेको आरोप लगाएको छ । शनिवार नेवि संघको तर्फबाट एक विज्ञप्ति जारी गर्दै महामन्त्री बलदेव तिमिल्सिनाले त्रिविका पदाधिकारी विद्यार्थीप्रतिको जिम्मेवारी र दायित्व निर्वाह गर्न अक्षम रहेको भन्दै खेद प्रकट गरेका छन् ।

अहिलेको कोरोना संकटको अबस्थालाई अवसरको रुपमा सदुपयोग गर्दै खोज, अध्ययन र अनुसन्धानमार्फत विश्वका अन्य बिश्वबिद्यालय सरह नयाँ–नयाँ तथ्य सँगै यसको निराकरणका उपायहरु पत्ता लागाउनु पर्नेमा त्यसो गर्न नसकेको उनको आरोप छ । यो समयमा उल्टै विद्यार्थीहरुको भविष्य अन्धकार बनाउने काममा लागेको, तयारी गर्दैछौँ भन्ने रेडीमेड जवाफ दिएर भ्रष्टचारमा चुर्लुम्म डुबेको आरोप लगाएका पनि छन् ।

महामन्त्री तिमिल्सिनाले त्रिविले परीक्षाको लागि सूचना सम्प्रेषण गर्ने र आफ्नो खुट्टामा आफै उभिन नसक्ने, अनलाइन कक्षाको नाटक मञ्चन गर्ने, २ सय ५५ भन्दा बढी विद्यार्थी कक्षामा सामावेश गर्न नसक्ने, सेमेष्टर प्रणाली भन्ने तर आन्तरिक मूल्यांकनलाई वैधानिकता दिन नसक्ने भन्दै आपत्ति प्रकट गरेका छन् ।

उनले त्रिविले परिक्षाको निम्ति चार वटा उत्तम विकल्प भन्दै अघि सारेपनि मापदण्ड नबनाउने र त्यसको विश्वसनियता र बैधता माथी प्रश्न गर्ने गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान कम्युनिष्ट सरकारको राज्य कब्जा कै नियत र मानसिकताबाट गुज्रेका निकम्मा पदाधिकारीहरुबाट विश्वविद्यालयलाई जोगाउंदै शैक्षिक, प्राज्ञिक मर्यादित वातावरण निर्माणका निम्ति हस्तक्षेपकारी भूमिका सहित विश्वविद्यालयको संरक्षणका निम्ति सबैमा अपिल गर्दछु ।’

महामन्त्री तिमिल्सिानाले त्रिविका वर्तमान पदाधिकारीको अर्कमणयताले विद्यार्थीमा पारेको मानसिक पीडा कोरोना को कहर भन्दा ठूलो रहेको बताउँदै यसको जिम्मेवार कसले लिने रु भन्दै प्रश्न समेत गरेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७ शनिबार ००:००  ५ : ०९ बजे