४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दिल्लीदेखि लन्डनसम्म अब बस यात्रा, १८ वटा देश घुम्दै ७० दिनमा पुगिने



एजेन्सी । के तपाईँ आधा दुनियाँ बसबाटै हेर्न तयार हुनुहुन्छ ? भ्रमण कम्पनी अड्भेन्चर्स ओभरल्यान्डले आयोजना गरेको नयाँ प्याकेज अन्तर्गत भारतको दिल्लीबाट लन्डनसम्मको यात्रा विमानमा नभएर बसबाट गर्न सकिनेछ । यसमा कुनै किसिमको हवाइ यात्रा समावेश नरहेको बताइएको छ ।

‘बस टु लन्डन’ ले २० जना यात्रुहरुलाई लक्जरी बसमा राखेर दिल्लीबाट लन्डनसम्म पुर्याउनेछ जसबीच १८ वटा देशहरु पार गर्नुपर्ने हुन्छ । यो यात्रा पूरा गर्न ७० दिन लाग्नेछ । वास्तवमा यो योजना १९५० र १९६० को दशकका हिप्पी ट्रेल बसबाट प्रेरित भएको बताइएको छ । साथै यसका यात्रुहरुले गन्तव्यमा पुग्नुअगाडि म्यानमारका पगोडा अवलोकन गर्न पाउनेछन्, चीनको ग्रेटवालमा हाइक गर्न पाउनेछन् भने मस्को, प्रेगलगायत ऐतिहासिक सहरहरु पनि घुम्न पाउनेछन् ।

माथि प्रस्तुत गरिएको तस्बिर अड्भेन्चर्स ओभरल्यान्डले अहिलेका लागि बनाएको अस्थायी डिजाइन हो । यो कम्पनी तुशार अग्रवाल र सन्जय मदनले स्थापना गरेका थिए र उनीहरुले यसअघि पनि लामो दुरीको यात्राको व्यवस्था गर्दै आएका छन् जसमा यात्रुहरुले आफ्नै गाडी ल्याउनुपर्ने हुन्थ्यो । तर दुवैले ग्राहकहरुको अनुभवलाई अझ उत्साहजनक बनाउन फरक किसिमको कार्यक्रम आयोजना गर्ने निर्णय गरेका हुन् ।

बस टु लन्डनको उद्घाटन २०२१ को मध्यतिरबाट सुरु गरिने बताइएको छ जसबेला कोभिड प्रतिबन्ध हट्ने अपेक्षा छ ।तर यात्रुहरुले आधा वा केही अंशसम्म मात्र यात्रा गर्न पनि पाउनेछन् जसलाई कूल चार भागमा विभाजित गरिएको छ । त्यस्तै यात्रा बेलायतबाट सुरु गर्ने कि भारतबाट भन्ने छनोट गर्न पनि पाउनेछन् ।

भारतबाट बसमा गएका यात्रुहरु लन्डन पुगिसकेपछि फर्कनका लागि विमानको प्रयोग गर्नेछन् जसमा बसले चाहिँ लन्डनबाट नयाँ २० यात्रुहरुलाई लिएर पुनः भारत फर्किनेछ । यो कार्यक्रम सम्बन्धी घोषणा गरेलगत्तै विश्वभरका बसमार्फत यात्रा गर्न इच्छुकहरुबाट सकारात्मक प्रतिक्रिया पाएको र ४० हजार जतिले त थप जानकारीका लागि आधिकारिक रजिस्टर पनि गराएको उनले बताए । आफूहरुले त्यति ठूलो प्रतिक्रिया अपेक्षा नगरेको हुनाले यसबाट धेरै हौसला मिलेको उनको भनाइ रहेको सीएनएनले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७ आइतबार ००:००  ६ : ०७ बजे