२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

बुद्धभूमि नगरपालिकाका वडाध्यक्ष राजेश्वर सिंहको निधन



मणि प्रसाद गैह्रे, तौलिहवा ।
नेपाली कांग्रेस कपिलवस्तुका पुराना नेता एवं बुद्धभूमि नगरपालिका वडा नं. ७ मानपुरका वडा अध्यक्ष राजेश्वर सिंहको आइतवार बुटवलमा उपचारको क्रममा निधन भएको छ ।

७१ बर्षीय सिंहको पछिल्लो समयमा विभिन्न दीर्घ रोगको कारण समस्या रहेको र उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ ।

सिंह लामो समय देखि नेपाली कांग्रेसको राजनितिमा क्रियाशिल रहदै आएका थिए । सिंह साविक जिल्ला विकास समितिका इलाका सदस्य समेत भएका थिए ।

अहिले स्थानीय तहको निर्वाचनमा बुद्धभूमि नगरपालिका वडा नं. ७ को वडा अध्यक्षमा निर्वाचित भई काम गर्दै आएका थिए । नेपाली कांग्रेस तत्कालिन क्षेत्र नं ४ का क्षेत्रिय सभापति पनि सिंह बनेका थिए ।

सिंहको निधन प्रति नेपाली कांग्रेस कपिलवस्तुले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी सभापति सुरेन्द्रराज आचार्यले एक शोक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस कपिलवस्तुका होनहार कार्यकर्ता र लोकतन्त्र र प्रजातन्त्रको लागि निरन्तर लडिरहेका सिंहको निधनले सिंगो नेपाली कांग्रेसलाई अपुरणीय क्षती पुगेको जनाउनुभएको छ ।

निधन भएका सिंह प्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दै मृतक परिवारजन प्रति समवेदना प्रकट गरिएको छ ।

त्यस्तै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सिंहको निधन प्रति दुःख व्यक्त गर्दै सिंगो नगरपालिकाको विकासमा सिंहको योगदानको चर्चा गर्दै नगरले उनका सल्लाह र मार्गदर्शदन अवलम्वन गर्ने बताए ।

वडा मात्र नभइ नगरको विकासमा सिंहले पुर्याएको योगदानको नगरपालिकाले कदर गर्दै उहांको वडा तथा नगरको विकासमा कोरेका योजनाहरु साकार पार्ने समेत नगर प्रमुख श्रेष्ठले जनाएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७ आइतबार ००:००  ८ : १३ बजे