५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मल पैँचो लिनेबारे नेपाल र बंगलादेशका प्रधानमन्त्रीबीच छलफल हुने



काठमाडौं ।

गहुँ, तरकारी र तोरी रोप्ने मौसममा मलको चरम अभाव हुने देखेपछि नेपालले बंगलादेशसंग ५० हजार टन युरिया मल पैँचो सापटी माग्ने भएको छ । मल पैंचो माग्न दुई देशका सरकार प्रमुखबीच नै छलफलको तयारी गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनायो ।

‘नेपालका प्रधानमन्त्री छलफलका लागि तयार हुनुहुन्छ, बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको समय मिलेको छैन,’ परराष्ट्र स्रोतले भन्यो । यसै साता छलफल गरेर मलको विषय टुंगोमा पुर्‍याउने गरी दुवै देशबाट कुटनीतिक पहल भएको मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्री घनश्याम भुसालको पहलमा ढाकास्थित नेपाली दूतावासमार्फत बंगलादेशको मल विभागसँग गरिएको छलफलमा सकारात्मक जवाफ पाएपछि दुई देशका सरकार प्रमुखबीच छलफलको कुरा अगाडि बढेको हो । बंगलादेशसंग १० लाख मेट्रिकटन मल मौज्दात रहेको छ । ५० हजार टन नेपाललाई पैँचो दिन बंगलादेश तयार भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कात्तिकदेखि पुससम्म युरिया र डीएपी गरेर एक लाख २० हजार मेटिक टन मल नेपालमा आवश्यक हुने मन्त्रालयको अनुमान छ । तत्कालका लगि ५० हजार मेट्रिक टन बंगलादेशबाट ल्याइने र बाँकी पनि जोहो गर्दे जाने मन्त्रालयको तयारी छ ।

कृषि सामग्री लिमिटेडले ठेक्का लगाएको ठेकदारमार्फत तत्काल मल आउने अवस्था नदेखेपछि कृषिमन्त्री घनश्याम भूषालले एक महिना अघिदेखि सापटीमा मल माग्न छलफल थालेका थिए ।

दुई ठूला छिमेकी मुलक चीन र भारतसहित ओमन, रसिया, साउदी अरब, बंगलादेश लगायतका मुलुकसंग तत्काल नेपालको गर्जो टार्न छलफल गरे पनि बंगलादेश मात्रै मल दिन राजी भएको मन्त्रालय स्रोतले बतायो ।

प्रकाशित मिति : १६ भाद्र २०७७ मंगलबार ००:००  १ : ३४ बजे