१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

फूलमतीको यौन आन्दोलन



कविता ।

यो पुरुष प्रधान देशका कोडी आँखाहरुले
उसकी सुत्केरी स्वास्नीका रगतमा
यौवनका किटाणुहरु नभेटेपछि
फूलमतीको पौरखी हात गिडेर
सम्बन्ध बिच्छेदको फुस्रा कागजमा
कालो ल्याप्चे लगाई दिएको हो

संस्कारले किचेको उसको रङ्गीन सिउँदोमा
कानुनका कागजी बारुदहरुले जलाए पछि
परम्पराको समर्पणले बाँधेको
रातो पोतेले उसको घाँटीमा पासो लगाएपछि
फूलमती बिद्रोहमा उत्रिएकी हो

जति चुसेपनि एकथोपो दूध नझरेपछि
उसकी आमाको छाती हेर्दै रुईरहेको बालकको
कलिलो ओठमा आगो झोसिदिए पछि
र उसका भोका दुधे आन्द्राहरु
पुंजीबजारको भारमा सुकाईदिन थालेपछि
फूलमती बिद्रोहमा उत्रेकी हो

सबै आमाको उहीँ गर्भबाट
बेबी ,बाबू छोरा मेरो प्राण जन्मदा
उसका गर्भबाट एउटा सहरको खाते जन्मे पछि
र बच्चाका निष्लोठ सपनाका अनिदा अक्षरहरु टिपेर
बिद्यालयको मूलद्वारमा सूली चढाईदिए पछि
फूलमती बिद्रोहमा उत्रिएकी हो

यहाँ काखीमा नानी च्यापेकी
निम्सरी महिलाको पसिना बिकेन
रित्तो पेटको गरुङ्गो भारी बिसाउने चौतारो नपाएर
रुदै रुदै हिडेको निर्दोष आँखाको आँसु बिकेन

फूलमती संबिधानको सार्भौम सम्पन्न नागरिक भएर
थचक्क बसिरहेकी छ संविधान कै एक छेउ तानेर
जहाँ धुमधाम चलिरहेछ मृत्युको व्यापार
धमाधम खुलिरहेछ मानव बधशाला

कसैको इज्जत जोगाईदिन फूलमतीले
आफ्नो लासमा हरिया झिङ्गा भन्काउन चाहदिन
त्यसैले बाँच्नका लागि
नाङ्गो यौन आन्दोलनमा उत्रिएकी हो ऊ

ओ महोदय
तपाईहरु कति पटक जानू भो
त्यो बिद्रोही फूलमती संग बार्ता गर्न
र त अहिले संसद भवनबाटै डुक्रिएर भन्नुहुन्छ
अब यौन कर्मीहरुको एउटा क्षेत्र निर्धारण गर्नु पर्छ ।।

प्रज्वल पुकार

प्रकाशित मिति : २७ भाद्र २०७७ शनिबार ००:००  २ : ३५ बजे