चन्द्रौटा घटना भएको १३ वर्ष पुरा, के भएको थियो २०६४ भाद्र ३० गते ?


मायादेवी अनलाइन, चार नम्बर ।
घटना भएको १३ वर्ष बितिसक्दा पनि अझै चन्द्रौटा घटनाका पीडितले अझै न्याय पाएका छैनन् । २०६४ भदौ ३० गते कपिलवस्तुको कुदरबेटवाका तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता अब्दुल मोइद खाँको अज्ञात समूहले हत्या गरेको थियो ।

सोही कारण भड्केको हिंसाका कारण १४ सर्वसाधारणको ज्यान गएको थियो । घटनामा २० करोडभन्दा बढीको धनमाल क्षति भएको थियो । घटनापछि सरकारले लोकेन्द्र मल्लिकको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले तयार पारेको प्रतिवेदनसमेत अहिलेसम्म सार्वजनिक गरिएको छैन् । घटना पछिका हरेक वर्ष भदौ ३० लाई पीडीतले कहिले कालो दिनका रुपमा स्मरण गर्दै आएका छन् ।

यस वर्ष कोरोना भाइरसका कारण कुनै औपचारिक कार्यक्रम भने गरिएन । कपिलवस्तु संघर्ष समितिका अध्यक्ष महादेव पोखरेलले भने, ‘सर्वोच्च अदालतमा दर्जनौं पटक पेसी सरिसकेको छ, हामी न्याय खोज्न कहाँ जाऔं अब ?’ अहिलेको सरकारले पनि न्याय र राहत नदिएको पीडीतहरुको गुनासो छ ।

कहालिलाग्दो यो घटनाको १३ वर्ष बितिसक्दा पनि पीडितले अझैसम्म पनि राज्यबाट न्याय नपाएको गुनासो भन्दै राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडाले बताए ।

मानव अधिकारकर्मी खतिवडाले सरकारीले क्षतिपूर्तिसमेत नदिएकाले पीडितहरु झन पीडित बन्दै गएका छन् । सरकारले न्याय दिनुपर्ने उनले माग गरे । घटनापछि भड्किएको हिंसाका कारण चन्द्रौटा, कृष्णनगर, गणेशपुर, बिशनपुर, चनईलगायतका स्थानमा हत्या, बलात्कार, आगजनी हुँदा ठूलो धनजनको क्षति भएको थियो । १ सय ६० सवारीसाधनमा आगजनी हुनुका साथै १० हजारभन्दा बढी नागरिक विस्थापित भएका थिए ।

पीडितहरुले मल्लिक आयोगको छानबिन प्रतिवेदनअनुसार क्षतिपूर्तिको माग गर्दै सर्वोच्च अदालतको ढोका ढकढकाए । सर्वोच्च अदालतमा ९ वर्ष अगाडि रिट दायर गरेको भए पनि रिटको अझैसम्म सुनुवाई भएको छैन् ।

विवाह भएको एक महिना नबित्दै सोही घटनामा आफ्ना श्रीमान गुमाउन पुगेकी बिशनपुर ३ की अमृता सुनारले घटनाका आरोपितलाई सरकारले अझैसम्म पक्राउ गर्न नसक्नु दःखद् भएको बताइन् ।

आफ्नो आँखा अघि नै श्रीमानको हत्या गर्ने अपराधिलाई कारबाही गर्नुको सट्टा यत्तिकै छाडिएको उनले गुनासो गरिन । उनले आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरिन ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस