१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाणगंगाका शैक्षिक संस्था खुलाउने तयारी (अन्तर्वार्ता)



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा विद्यालय खुलाउने तयारी भएको छ । विहिबारबाट जिल्लामा लकडाउन थप खुकुलो भएर सवारी साधन तथा होटल ब्यवसाय खुलेसंगै अब शैक्षिक संस्था पनि खुलाउने तयारी भएको हो ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको नियमित कार्यक्रम समय संवादसंग विहिबार विहान कुराकानी गर्दै नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत खिम बहादुर जिसी र जनता नमुना मावि पिपराका प्रधानाध्यापक रमेश पन्थीले अब नगर भित्र शैक्षिक गतिविधि सुरु गर्ने गरी तयारी भएको बताउनु भयो ।

शिक्षा अधिकृत जिसीले विद्यालयलाई सिकाई केन्द्र बनाएर भए पनि संचालन गर्न नगरको तुरुन्तै वैठक बस्ने बताउनु भयो । उहाँले २ दिन अघि सरोकारवालाको छलफलपछि विद्यालय संचालन गर्नु पर्ने मनसाय आएको हुँदा नगरले पनि बढीमा १ हप्ताभित्र नयाँ सूचना ल्याउने बताउनु भयो ।

तर विद्यालय संचालन गर्दा निश्चित मापदण्ड बनाइने उहाँको भनाई छ । यसको लागि नगरका सामुदायिक, संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिसंग छिटै छलफल गरेर विद्यार्थी संख्याको अनुपात कति बनाउने, कुन कुन समयमा विद्यालय चलाउने आदि विषयमा निचोड निकालिने उहाँले बताउनु भयो । अर्को सूचना जारी नहुदासम्म विद्यालय शैक्षिक संस्था खोल्न नहुने प्रशासनको निर्णय भए पनि बाणगंगाका सरोकारवालाको मनसायका आधारमा नगरले केही महत्वपूर्ण निर्णय गर्न सक्ने जिसीको दाबी छ ।

सामुदायिक विद्यालयका प्रतिनिधि जनता माविका प्रधानाध्यापक पन्थीले अब वैकल्पिक उपायभन्दा पनि विद्यालयमै कक्षा संचालन गर्नु पर्ने जिकिर गर्नुभयो । वस खुले, होटल खुले, सबै खुले अब बाँकी के रह्यो र ? भनी प्रश्न गर्दै पन्थीले स्वास्थ्य सावधानी अपनाएर विद्यालय खोल्न नगरले नेतृत्व लिनु पर्ने भनाई राख्नु भयो ।

शिक्षक, अभिभावकले विद्यार्थी विद्यालय पठाउन आतुर रहेको बताउँदै अब विद्यार्थी संख्या आधा घटाएर, मास्क, सेनेटाइजर, साबुन पानी अनिवार्य गरी सामाजिक दुरीसहित कक्षा सुरु गर्दा राम्रो हुने पन्थीको धारणा छ । उहाँहरु दुवैले घरमा रहनु भएका अभिभावक र विद्यार्थीहरु पनि तयारी अवस्थामा रहन आग्रह गनुृ भएको छ ।

बाँकी कुराहरु सुन्न तलको भिडियो लिंकमा क्लिक गर्नुहोला ।

प्रकाशित मिति : १ आश्विन २०७७ बिहिबार ००:००  ११ : ०१ बजे