७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कोभिड-१९ः मानसिक स्वास्थ्यमा पार्ने असर र यसबाट बच्ने उपाय



यमुना पोख्रेल ।
हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड-१९ ले मानिसको जन-जीवनमा निकै ठुलो असर पारेको छ । जसको असर विश्वका विकसित मुलुकदेखि लिएर बिकासशिल तथा साना अविकसित मुलुकहरुसम्ममा रहेको छ, जसको सिकार नेपाल जस्तो विकासोन्मुख मुलुक पनि बनेको छ ।

कोरोना भाइरस रोक्थामको लागि नेपाल सरकारले २०७६ साल चैत्र ११ गते देखि सुरु गरेको लकडाउन विभिन्न चरणहरुमा अघि बढदै, स्वरुप परिवर्तन गर्दै हालसम्म पनि जारी नै छ । जसका कारण आम जनजीवन कष्टकर बन्दै गईरहेको छ । लामो समयसम्म चलिरहेको लकडाउनका कारण सम्पुर्ण आर्थिक गतिबिधिहरुमा नकरात्मक असर परिरहेको देखिन्छ । जसको असर विभिन्न उद्योग, कलकारखाना, व्यवसाय, यातायात क्षेत्र, शिक्षा क्षेत्र, दैनिक ज्यालादारी मजदुरहरु सम्पुर्णमा देख्न सकिन्छ । एकातर्फ मानिसहरु घरभित्र सुरक्षित भई बस्नु पर्ने अवस्था छ भने अर्कोतर्फ घरभित्रको नजरवन्द लामो समयसम्म भैदिनाले विभिन्न समस्याहरु देखिन थालेका छन् । जस्तो कि मानिसलाई घरपरिवार पाल्नको लागि दुई छाक खानाको जोहो गर्ने समस्या छ भने अर्को तर्फ मानिसको मस्तिष्कमा नकरात्मक सोच उत्पन्न भैरहेका छन् ।

कोरोना महामारीको कारणले उत्पन्न मानसिक तनावले गर्दा मानिसहरुको मनमा विभिन्न किसिमका नकरात्मक सोच तथा भावनाहरु उत्पन्न भइरहेका छन् जसका कारण उनीहरुको व्यवहार, कार्यशैली, सोचमा फरकपन देख्न सकिन्छ भने यसको विकराल रुप आत्महत्या सम्मका उदाहरणहरु हामी हाम्रो समाजमा देखिरहेका छौ । यस्ता असरहरु विभिन्न वर्ग र क्षेत्रका आम मानिसहरुमा देख्न सकिन्छ । उदाहरणका लागि उद्योगी र व्यवसायीहरुमा व्यवसायीक चिन्ता, विद्यार्थीहरु आफ्नो अध्ययन र भविष्यको चिन्ता, रोजगारी गुमाएका मजदुर र कर्मचारीहरु परिवार पाल्ने चिन्ता आदि इत्यादि कारणहरुले मानिसहरु मानसिक रुपले ग्रस्त भएको देखिन्छ । यसका साथै मानिसहरुमा देखिने अन्य मानसिक समस्याका लक्षणहरु निम्न प्रकारका छन् ।

१. छटपटी हुनु
२. परिवारका सदस्य, आफन्त र प्रियजनको स्वास्थ्यबारे चिन्तित हुनु
३. असुरक्षित महसुस हुनु
४. एक्लोपनको महसुस हुनु
५. खानपानमा परिवर्तन आउनु
६. काम गर्ने शक्तिमा परिवर्तन आउनु
७. उदासिनता वा निराशा महशुस हुनु
८. मध्यपान, धुम्रपान वा लागुपदार्थको प्रयोग गर्नु साथै मात्रा बढ्दै जानु
९. दीर्घकालिन स्वास्थ्य समस्या बढ्दै जानु आदि
माथि उल्लेखित समस्याहरु आम मानिसमा भिन्न भिन्न तरिकाले देखिएका छन् । तर महामारीले गर्दा आम मानिसले सबैभन्दा धेरै गुमाएको चिज के हो भन्दा आत्मबल । यस्तो विपदको अवस्थामा मानिसले आफुमा हौसला बढाएर राख्नु नै सबैभन्दा उतम उपाय हुन्छ किनकी हामी यस्तो बेलामा कुनै अस्वभाविक निर्णय गर्न पुग्छौ तर त्यो दीर्घकालिन समाधान हुन सक्दैन र यसले हामी मात्र नभएर हाम्रो परिवार, समाज अनि राष्ट्रमा समेत ठुलो हानि पुग्न सक्छ । गलत सन्देशहरु प्रवाह हुन सक्छन र मानिसमा नकरात्मक सोचको विकास हुन्छ । त्यसकारण यस्ता समस्याका विभिन्न समाधानका उपायहरु छन् । जुन हामी सजिलैसंग आफ्नो जीवनमा अपनाउन सकिन्छ जस्तै ।

१. आफ्नो मनमा लागेका विचार, अनुभवहरु सहजता अनुसार विश्वासिलो व्यक्तिलाई अभिव्यक्त गर्नुहोस
२. शारिरिक दुरी भएपनि भावनात्मक सम्बन्ध कायम राख्नुहोस
३. बिश्वसनीय संचार माध्यमलाई मात्र प्राथमिकता दिनुहोस
४. पोषणयुक्त खानेकुरा खानुहोस
५. आफुलाई रमाइलो लाग्ने कार्यहरु गर्नुहोस
६. प्रयाप्त मात्रामा सुत्नुहोस
७. योगा तथा शारिरीक व्यायम गर्नुहोस
८. सकरात्मक सोच राख्नुहोस र आशावादी हुनुहोस
९. मध्यपान, धुम्रपान तथा अन्य लागुपदार्थको प्रयोग नगर्नुहोस
१०. विभिन्न सिर्जनात्मक कार्यहरु गर्नुहोस
माथिका उपायहरु आफ्नो आवश्यक्ता अनुसार प्रयोग गर्न सकिन्छ । यस प्रकारको अभ्यास गर्दा पनि डर, चिन्ता कम नभएमा मनोचिकित्सा संग परोमर्श गर्नुपर्दछ । यसको लागि विभिन्न संस्थाको प्रयास मा टोल फ्रि फोन काउन्सेलिङ सेवाहरु पनि संचालनमा छन् । आवश्यक्ता हेरेर सेवाहरु उपयोग गर्न सक्नुहुनेछ ।

यमुना पोख्रेल Public Health Graduate

कोभिड परामर्शदाता, स्वास्थ्यको लागिसक्षम प्रणाली (MoSD, Province 5)

प्रकाशित मिति : २ आश्विन २०७७ शुक्रबार ००:००  १० : १८ बजे