८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नेकपा सचिवालय बैठकमा मन्त्री हेरफेरबारे छलफल



काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा मन्त्रीहरु हेरफेर गर्ने एजेन्डामाथि छलफल भएको छ । आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भए पनि कुन कुन मन्त्रीलाई हटाएर क–कसलाई पठाउने भन्नेबारे नाममा भने छलफल भएन।

‘मन्त्रिपरिषद पुनर्गठनबारेमा आजको सचिवालय बैठकमा छलफल भयो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग भने, ‘मन्त्रिपरिषद पुनर्गठनबारे नीतिगत रूपमा र मापदण्डबारे छलफल सुरू भएको छ। नामबारे छलफल भएन। आवश्यकता परेमा नामबारे प्रधानमन्त्रीसँग पछि यसबारे छलफल गर्न सकिन्छ।’

आजको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन लगायत चार एजेन्डा छलफलका लागि पेश गरिएको थियो। हालै सकिएको स्थायी कमिटी बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन गर्न सचिवालय बैठक बसेको श्रेष्ठले जानकारी दिए।

बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तिको एजेन्डा पनि छलफलका लागि पेश भएका छन्। सरकारले गर्ने नियुक्ति विषयमा आधार तय गर्न छलफल गर्न लागिएको उनले बताए। सचिवालय बैठक सोमबार पनि पेरिसडाँडामा बस्नेछ।

प्रकाशित मिति : ४ आश्विन २०७७ आइतबार ००:००  ५ : ३१ बजे