६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

एसिडले छोए १० वर्ष, अनुहारमा परे २० वर्ष कैद



काठमाडौं । सरकारले एसिड ९तेजाब० आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेशमार्फत नयाँ कानून ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

२५ भदौमा एसिड आक्रमणमा परेकाहरुसँग भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिवद्धता अनुसार नयाँ कानूनको मस्यौदा तयार भइरहेको छ ।

नयाँ कानूनको मस्यौदामा एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय तोकिएको छ । आक्रमणबाट मुख्य अंगहरु आँखा, कान, मुख, छाती र यौनाङ्गमा क्षति भएमा २० वर्ष तथा अन्य अंगमा घाउचोट लागे १५ वर्षको कैद सजाय तोकिएको छ ।

एसिड आक्रमणमा शरीरको कुनै पनि भाग एसिडले छोएमा न्यूनतम दश वर्षको सजाय तोकिएको छ भने एसिड आक्रमण गर्नेहरुलाई धरौटीमा रिहा या आममाफी लागू नहुने समेत अध्यादेशमा उल्लेख छ ।

२५ भदौमा प्रधानमन्त्रीले एसिड आक्रमणमा परेका १२ जना पीडित र एसिड आक्रमणविरुद्ध लागिपरेका अभियन्तासँग भेट गरेका थिए । एसिड आक्रमणमा परेकाहरुको पीडा सुनेपछि प्रधानमन्त्री ओलीले आक्रमण गर्नेहरुलाई कडा सजायदेखि पीडितको निःशुल्क उपचार गर्नेसम्म व्यवस्था गर्ने बताएका थिए । त्यसअनुसार मन्त्रिपरिषद्ले कानूनको मस्यौदा १५ दिनभित्र बनाउने निर्णय गरेको छ भने उपचारका लागि चार अस्पताल तोकेको छ ।

अध्यादेशको मस्यौदामा एसिड सिल गरिएको बोतलमा मात्र बेच्न पाइने र खुला रुपमा बिक्री वितरण पूर्ण बन्देज गर्ने उल्लेख छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७ बिहिबार ००:००  ८ : १८ बजे