४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सिद्धार्थ राजमार्गमा आधा दर्जन ठाउँमा पहिरो, तीन दिनदेखि अवरूद्ध



पाल्पा ।

अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग तीन दिनदेखि अवरूद्ध भएको छ। शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमा रोकिएका छन्। टाढाटाढा हिडेका यात्रुसमेत अलपत्र परेका छन्।

पाल्पाको डुम्रेदेखि सिद्धबाबा सडकखण्डअन्तर्गत आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेको छ। शनिबार दिनभर स्काभेटर र डोजर प्रयोग गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि सम्भव नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले बताए।

‘पहिरोसँगै झरेका ठूला ढुंगा फोर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘ब्रेकर बुटवलतर्फ भएकाले तत्काल ढुंगा फोर्न सक्ने अवस्था छैन।’ ठूलाठूला चट्टानसहित सडकमाथिबाट पहिरो खसेको छ। सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको छ। डुम्रेतर्फको राजमार्गमा ठूला ढुंगासहित पहिरो झरेको छ।

आइतबार बिहानदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए। तर, आज पनि कतिबेला सञ्चालन हुन्छ भन्ने यकिन नभएको उनको भनाइ छ। राजमार्ग पूर्णरूपमा अवरुद्ध भएकाले नजिकको प्रहरी वा सम्बन्धित कार्यालयमा बुझेर मात्र यात्रा गर्न प्रहरी उपरीक्षक भट्टराइले आग्रह गरे।

प्रकाशित मिति : ११ आश्विन २०७७ आइतबार ००:००  ७ : ४७ बजे