७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

अनसनरत डाक्टर केसीको जीवन रक्षा गर्न ३३ नागरिकको अपिल



काठमाडौं ।

चिकित्सा शिक्षा सुधारका लागि १९ औं पटक १४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न नागरिकहरूले सरकारसँग अपिल गरेका छन्।

केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गिर्दो अवस्थामा रहेकोले कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्नेतर्फ उनीहरूले सरकारको ध्यानाकर्षण गरेका हुन्। आइतबार विज्ञप्ति निकालेर उनीहरूले यसअघि केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेका हुन्।

‘डाक्टर केसीको गिर्दो स्वास्थ्य अवस्थालाई ख्याल गरी तत्कालै उहाँको जीवन रक्षा र उहाँले उठाएका मागहरू सम्बोधन गर्न सरकारसँग हामी अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

केसीलाई अनसनस्थल जुम्लाबाट काठमाडौं ल्याएको एक साता भएको तथ्य जान्दाजान्दै पनि सरकारले चासो नदिएकोमा आफूहरू चिन्तित भएको अपिलमा उनीहरूले उल्लेख गरेका छन्।
पूर्वप्रधानन्यायाधिशहरू कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले अपिल जारी गर्दै डाक्टर केसीको जीवन रक्षाको माग गरेका हुन्।

प्रकाशित मिति : ११ आश्विन २०७७ आइतबार ००:००  ४ : ११ बजे