१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रदेश ५ का सामुदायिक विद्यालयः कतिपय अलमलमा, कही त्रैमासिक परीक्षा लिदै



दीपा महत, कपिलवस्तु ।

कोभिड-१९ को महामारीका कारण सिर्जित बन्दाबन्दीले मुलुकका सवै क्षेत्र प्रभावित बन्यो । अझ त्यसमा पनि विद्यालय शिक्षा प्रत्यक्ष रुपमा मारमा पर्यो । महामारीका कारण विद्यार्थीलाई कसरी पढाउने, के पढाउने ? भन्ने सवालमा लामो समय अन्यौल नै रह्यो । शूरुवातीदेखि नै अलमलमा परेका विद्यालय र शिक्षकहरु अहिले सम्म पनि अझैं अलमलमै छन् । कसरी पढ्ने? कहाँ पढ्ने? कहिले पढ्ने भन्ने जस्ता प्रश्नहरुले विद्यार्थी र सरोकारवाला झनै अन्योलमा छन् । सरकारले विद्यालय तहको सिकाई सहजीकरण निर्देशिका जारी त गर्यो तर, त्यसको अलमल अझै उस्तै छ । कतिपय विद्यालयले बल्ल तल्ल ६ महिना पछि पठनपाठन गर्ने निर्णय गर्दैछन् ।

यसै बीचमा कतिपय विद्यालयले भने पहिलो त्रैमासिक परीक्षाको तयारी थालेका छन् । सरकारले सिकाइ सहजीकरण निर्देशिका नल्याउँदै नै बैकल्पिक विधिबाट पढाउन सुरु गरेका विद्यालयले परीक्षाको तयारी गरेका हुन् ।

पाल्पाको दमकडा माविका प्रद्यानाध्यापक मोहन प्रसाद सापकोटाले सरकारले वैकल्पीक शिक्षा सहजीकरणको नीति ल्याउनुभन्दा पहिले देखि नै रेडियोको माध्यमबाट शिक्षा दिइरहेको बताए ।

सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको अभिभावकसँग इन्टरनेट छैन त्यसले गर्दा कोरोना महामारीको बेला पनि रेडियोको माध्यमबाट शिक्षण सिकाईलाई विद्यालयले निरन्तरता दिएको छ । यसका अतिरिक्त सरकारको निर्देशिका मार्फत कोरोना महामारीको अवस्थामा पनि विद्यालयले विद्यार्थीलाई शिक्षण सिकाईमा निरन्तरता दिएकाले त्रैमासिक परिक्षा संचालन गर्न सफल भएका छौं ।

जसले गर्दा पहिलो त्रैमासिक परिक्षा लिने अवस्थामा पुगेको प्रअ सापकोटाले बताए । दैनिक ३ चरणमा १२ स्थानमा परिक्षा संचालन गरिरहेका छौं, प्रअ सापकोटाले भने – विद्यालयको १ कक्षा देखि १२ सम्मका विद्यार्थीलाई १२ टोलमा स्वास्थ्य सावधानी सहित परिक्षा संचालन छ ।

उनका अनुसार दमकडा माविले घरमै बसिरहेको विद्यार्थीका लागि टोल शिक्षामार्फत दैनिक २÷३ घण्टा २ महिना जति सहजीकरण गरिएको थियो । विद्यार्थी र अभिभावक टोल शिक्षा मार्फत निकै उत्साहित र खुसी भएको सापकोटाको बुझाइ छ ।

विद्यालयले प्रविधीको माध्यमबाट निवन्ध प्रतियोगिता, परिसम्बाद जस्ता रचनात्मक कार्यक्रम यही अवधीमा गर्न सफल भएको छ। डिजिटल लर्निग कक्षा संचालनको लागि विद्यालयले कार्यक्रम अगाडी बढाएको छ।

त्यस्तै गुल्मीको शिद्धवावा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसले विद्यार्थीलाई प्रोजेक्ट वर्क, समुदायमा सिकाइ केन्द्र, घरदैलो मार्फत सहजीकरण गरेकाले अब विद्यालयले प्रथम त्रैमासिक परिक्षा लिने तयारी गरेको बताए ।

‘टोल टोलमा शिक्षक गएर परीक्षा सन्चालन गर्ने तयारी भईरहेको छ’ उनले भने, ‘शैक्षिक सत्र खेर जान नदिनका लागि त्यसो गरिएको हो।’दशैं नजिकिदै गर्दा विद्यार्थीलाई गृहकार्य पठाउने तयारी गरिरहेको उनले जानकारी दिए ।

शिक्षाका लागि राष्ट्रिय अभियान प्रदेश ५ ले कोभिड १९ र विद्यालय शिक्षाको अवस्थमा गरेको भर्चुअल संवाद कार्यक्रममा बोल्दै उनले कोभिड १९ को महामारी सुरु भएदेखि नै वैकल्पिक शिक्षण सिकाइ गरिरहेको बताए । ‘विद्यालय बन्द हुनसक्छ, सिकाई बन्द हुँदैन’ श्रीसले भने, ‘परिस्थितिअनुसार पनि प्रविधीबारे बाध्य भएर सिक्ने सिकाउने कार्य गरिरहेका छौं।’ पहुँच नभएका विद्यार्थीलाई कसरी प्रविधीमा जोड्ने र यसबारे सरकार र विद्यालयले सोच्न आवश्यक भएको उनले बताए ।

उनले टोल शिक्षा प्रभावकारी भएको बताए । ‘टोल कक्षाले शिक्षक र विद्यालय देखि टाढा रहेका विद्यार्थी र अभिभावकलाई जोड्ने काम गरेको छ । उक्त कार्यले विद्यार्थी र अभिभावक निकै उत्साहित छन् । एउटा टोल समूहमा १० जना भन्दा बढि नराख्ने र सवै विषय पढाउन सक्ने शिक्षकहरु बाट कक्षा संचालन गर्ने गरेका छौं, प्रअ श्रीस । ’

रुपन्देहीको सियारी गाउँपालिकाका शिक्षा प्रमुख सुधिर पौडेलले कोभिडको बेला बन्दाबन्दीको समयमा विद्यार्थीलाई वैकल्पीक शिक्षण सिकाईका सवै उपाय अवलम्बन गरेको जानकारी गराए । गाउँपालिकाले कक्षा ६ देखि १० सम्म शिक्षकहरुबाट परियोजना कार्य निर्माण र छपाई गरी कार्यान्वयनमा ल्याएको उनले बताए ।

शिक्षा प्रमुख पौडेलका अनुसार विद्यालयले टोल शिक्षा, घर घरमा सहजीकरण र कन्ट्याक्ट शेसन मार्फत शिक्षण सिकाई कार्य अघि बढाइरहेका छन् ।

सम्वाद कार्यक्रममा माहुरी होम कपिलवस्तुकी लक्ष्मी श्रेष्ठ, दाङका शिक्षाकर्मी माधव चौधरी, रुपन्देहीका शिक्षकहरु प्रचण्ड जिसी, उमा पाण्डे लगायतले बोलेका थिए । उनीहरुले कोभिडको बेला धेरै बालबालिकाहरु विभिन्न खालका हिंसामा परेका बताए। कतिपय ठाउँमा बालविवाह गरेको पाइएको र यस्ता मुद्दाहरूमा पनि सवै निकायको ध्यान जान जरुरी उनीहरूको भनाई थियो।

उनीहरूले विद्यार्थीको पहुँचमा इन्टरनेट नहुँदा शिक्षण सिकाई हुन नसकेको र गरिव विपन्न विद्यार्थीको घरघरमा सामान्य रेडियो नहुँदा समेत शिक्षण सिकाईमा बाधा पुगेको हुँदा विद्यार्थीलाई प्रत्यक्ष भेट्नुपर्ने बाध्यता रहेको बताएका थिए।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयलयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख थानेश्वर ज्ञवालीले महामारीको समयमा अवस्था फेरिएको हुँदा पठन पाठनको शैली परिवर्तन हुनका लागि शिक्षक पनि परिवर्तन हुनुपर्ने बताए ।

‘हामी पुरानै मान्यताबाट पठनपाठन गरिरहेका छौं, औपचारिकतामै सिमित छौँ’ उनले भने ‘शिक्षक नै उपस्थित भएर पढाउन पर्दछ भन्ने माइण्ड सेटबाट उन्मुक्ति हुनुपर्दछ।’
पहाडी जिल्लामा दुरदराजका विद्यालय पनि बन्द गरेर अर्थ नहुने उनको भनाइ छ । हँुदैन उनले भने विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा पनि कोभिड १९ को प्रभाव नभएको ठाउँमा विद्यालयमै पठन पाठन गराउन सक्ने भनिएको हुँदा त्यसतर्फ पनि ध्यान जान जरुरी भएको ज्ञवालीले बताए।

‘सिडिओले बन्द गर्ने आदेश दिन्छन्, स्कुल चलाउन दिनहुन्न भन्ने पालिकाहरु छन्, ज्ञवालीले भने, ‘जहाँ जसले जसरी सिक्नसक्छ त्यसरी नै पढाउन दिनुपर्दछ । पछाडी परेको समुदायलाई शिक्षामा प्राथमिकता दिनुपर्दछ।’

शिक्षाका लागि राष्ट्रिय अभियान प्रदेश ५ का संयोजक हरि अधिकारीले महामारीका बेला पनि कुनै न कुनै माध्यमबाट बालबालिकाको सिकाई प्रकृयालाई सहभागी गराउनुपर्ने बताए । उनले कोभिड महामारीकाबेला शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले ल्याएको वैकल्पीक शिक्षण सिकाई, विद्यार्थी सिकाई सहजीकरण निर्देशिकालाई सामुदायिक विद्यालयले पूर्ण रुपमा पालना नगरेको बताए ।

शिक्षा पत्रकार समुहका पत्रकार तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल प्रदेश सचिव कृष्ण मल्लले सार्वजनिक शिक्षा सृदृढिकरणका लागि स्थानीय सरकारको भूमिका बढाउनुपर्ने बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७७ आइतबार ००:००  ४ : ५९ बजे