११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

पौडेल समूहले दियो देउवालाई एक हप्ते अल्टिमेटम



काठमाडौं ।
नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी सभापतिलाई एक हप्ते अल्टिमेटम दिएका छन् ।

असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगाडि सम्बोधन गर्ने तदारुकता नदेखाए विरोध कार्यक्रम सुरु गर्ने यो समूहको चेतावनी छ ।

पौडेल समूहले विभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र केन्द्रले आफूखसी क्रियाशील सदस्यता बाँड्न नहुनेलगायतका मुद्दा उठाउँदै आएको छ ।

तर पार्टी सभापति शेरबहादुर देउवाले सुनुवाई नगरेपछि पौडेल समूहले महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित ज्ञापनपत्र पार्टी कार्यालयमा दर्ता गरेको छ ।

आइतबार दर्ता गरिएको ज्ञापनपत्रमा पार्टीलाई विधानसम्मत संचालन गरी १४औं महाधिवेशन स्वच्छ, निश्पक्ष गर्ने वातावरण सृजना गर्न आग्रह गरिएको छ । ‘आगामी केन्द्रीय कार्यसमितिको बैठकसम्म न्यायपूर्ण र विधिसम्ममत समाधान गर्नेतर्फ गम्भीरता र तदारुकता देखाउनु भएन भने वैधानिक संघर्षका विरोध कार्यक्रम गर्न बाध्य हुनेछौं’ ज्ञापन पत्रमा भनिएको छ ।

पौडेल समूहले यो ज्ञापन पत्रमा कृष्ण सिटौला समूहका चार केन्द्रीय सदस्यलाई पनि हस्ताक्षर गराउन चाहेको थियो । तर आइतबार भएको भेटमा सिटौलाले आफ्नो समूहले हस्ताक्षर नगर्ने बताएपछि २७ जनाले मात्र हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७७ सोमबार ००:००  ४ : १२ बजे