११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

गुर्जो रोप्दै राजधानीका स्थानीय तह



काठमाडौं ।
राजधानीका स्थानीय तहमा गुर्जो रोपणका लागि वितरण अभियान तीव्र भएको छ । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोगी ठानिएको वनस्पति गुर्जोका बिरुवा निःशुल्क बाँड्दै आएका आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवटले सोमबार राजधानीका तीन स्थानीय तह र त्रिभुवन विश्वविद्यालयका चार विभागमा बिरुवा हस्तान्तरण गरेका हुन।

बूढानीलकण्ठ नगरपालिकालाई २००, महालक्ष्मी नगरपालिकालाई २०० र सूर्यविनायक नगरपालिका ५ लाई ३०० गुर्जोका बिरुवा हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले जानकारी दिए ।

त्यस्तै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको वनस्पति, जीव विज्ञानलगायत विभागका लागि ८०० बिरुवा हस्तान्तरण गरिएको पनि उनले बताए ।

यस्तै ललितपुरको ठैब क्षेत्रका लागि ३०० बिरुवा रोपणका लागि हस्तान्तरण गरिएको छ।

बूढानीलकण्ठ नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण भई आइसोलेसन कक्षमा बसेका ३५ जनालाई गुर्जोबाट बनेको चियासमेत ३५ केजी नगर प्रमुख उद्धवप्रसाद खरेलमार्फत् हस्तान्तरण गरिएको छ।

कोरोना पोजेटिभ भएकालाई फेरि दिने प्रतिबद्धता अभियानकर्मी राजलवटले जनाएका छन।

महालक्ष्मी नगरपालिकामा समेत आइसोलेसन कक्षमा बसेकाका लागि गुर्जोको चिया हस्तान्तरण गरिएको छ।

नगर प्रमुखलाई गुर्जोको चिया
महालक्ष्मीमा नगर प्रमुखसमेत कोरोना सङ्क्रमण भई आइसोलेसन कक्षमा बसेकाले उनलाई पनि नगरपालिकामार्फत् नियमित सेवनका लागि छुट्टै गुर्जोको चिया हस्तान्तरण गरिएको छ ।

उपत्यकामा एक घर एक गुर्जोको बिरुवा रोप्नुपर्ने अभियानका रूपमा अघि बढाइएको छ ।

गुर्जो रोपण अभियानमा हाल उपत्यकामा क्रियाशील वाग्मती, रुद्रमती, विष्णुमती, चक्रपथलगायत क्षेत्रका सफाइ अभियानकर्मी पनि लागेका छन् ।

उपत्यकाका सबै नदी किनारमा गुर्जोको बिरुवा रोप्ने अभियानसमेत शुरु भइसकेको छ ।

नदी किनारका प्रत्येक घरमा समेत गुर्जो रोपण अभियान जारी छ ।

गुर्जो मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकीलगायत रोगका लागि औषधीको रूपमा प्रयोगमा ल्याइन्छ ।

गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन ।

लहानस्थित सरकारी निवास क्षेत्रमा हुर्काइएका करिब ७५ हजार गुर्जोका बिरुवा हालसम्म देशका विभिन्न भागमा रोपणका लागि हस्तान्तरण गरिएको छ ।
रासस

प्रकाशित मिति : १३ आश्विन २०७७ मंगलबार ००:००  ७ : ४२ बजे