१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

ओली-दाहालबीच आज पनि भेट



काठमाडौं ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबारदेखि उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहे पनि कुरा मिल्न सकेको छैन। आज पनि सोही विषयमा छलफल भइरहेको स्रोतले बतायो।

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रचण्डले सरकारमा लैजान चाहेका छन्। उपाध्यक्ष वामदेव गौतमबारे परेको रिटमा सर्वोच्च अदालतले असोज १४ गते सुनुवाइ हुँदैछ। प्रचण्डले १४ गतेको सुनुवाइका आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने अडान राख्दै आएका छन्। प्रचण्डलाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि साथ दिएका छन्।

प्रधानमन्त्री निकटका एक स्थायी कमिटी सदस्यले भने मंगलबारको बैठकमा दुई अध्यक्षबीच सहमति हुने दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले टुक्रयाइएका मन्त्रालय र खाली भएका मन्त्रालयमा मात्रै मन्त्री थप्न लागेकाले कुरा नमिलेको प्रचण्ड निकट स्रोतको दाबी छ।

प्रधानमन्त्री ओलीले तीन वटा मन्त्रालय थप्ने तयारी गरेका छन् भने तीन मन्त्रालय खाली छ। यस्तो अवस्थामा तीन राज्य मन्त्री हटाएर ६ जना मन्त्री थप्न सकिन्छ। तर प्रचण्डले भने मन्त्रिपरिषद् पुनर्गठनको सन्देश जानेगरी मन्त्रीहरू हटाउनुपर्ने अडान लिएका छन्।

प्रकाशित मिति : १३ आश्विन २०७७ मंगलबार ००:००  १ : २५ बजे