१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

गुल्मीदरबार गाउँपालिकाले थाल्यो बाँझो जग्गाको लगत संकलन



गुल्मी ।
गुल्मीदरबार गाउँपालिकाले आफ्नो स्थानीय तहभित्र रहेको बाँझो जग्गाको लगत संकलन सुरु गरेको छ । कोरोना भाइरसका कारण विदेशबाट फर्केका र स्वदेशमै रोजगारी गुमाएका युवालाई कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनाउनका लागि बाँझो जग्गाको लगत संकलन कार्य सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

स्थानीय तहभित्र रहेको बाँझो जग्गालाई उपयोगमा ल्याउनका लागि गाउँपालिकाले भूमि बैंक कार्यविधि २०७७ पारित गरेको र सोहीअनुसार नै लगत संकलनको कार्य गरिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय तहभित्र रहेका बाँझो जग्गाका जग्गाधनीहरूले गाउँपालिकामा यही असोज मसान्तसम्म निवेदन दर्ता गर्नुपर्ने उल्लेख गरिएको छ। प्राप्त जग्गाहरूलाई भूमि बैंकमा दर्ता गरी सो जग्गाअनुसार पालिकाले निर्णय गरेबमोजिम रकम जग्गाधनीले प्राप्त गर्न सक्ने पाण्डेले दाबी गरे ।

पालिकाले तोकेको समय अवधिसम्म निवेदन दर्ता नगरी जग्गा बाँझो राखेमा पालिकाबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधाहरू रोक्का गर्ने र प्रतिरोपनी एक हजारका दरले जरिवानासमेत गर्ने गाउँपालिकाले चेतावनी दिएको छ ।

गाउँपालिकाभित्र करिब ६१२ जना युवा देश तथा विदेशबाट रोजगारी गुमाएर फर्किएका गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७ मंगलबार ००:००  ६ : ३७ बजे